काठमाडाैँ । सुनसरीका बुधनीदेवी थारुलाई एउटा आफ्नै घर बनाउने र छोराछोरीलाई राम्रो शिक्षा दिने इच्छा थियो । तर, मनग्ये आम्दानी र बचत नहुँदा यो इच्छा पूरा हुन सकेको थिएन । तर, आम्दानीको स्रोत व्यवस्थापन गर्नेबारे जानकारी पाएपछि अहिले उहाँलाई सजिलो भएको छ । यसो हुनुको कारण हो, सरकारले सञ्चालन गरेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) । ‘खेतबारीमा थोरै भए पनि तरकारी, सागपात लगाउँथे र केही बेच्थेँ पनि । तर, पैसा कसरी बचत गर्ने, कहाँ जम्मा गर्ने भन्नेबारे थाहै थिएन । समृद्धिमा आबद्ध भएपछि नजिकैको सहकारीमा थोरै थोरै भए पनि बचत गर्ने बानी बस्यो । अहिले त श्रीमानको पनि सानो व्यवसाय छ त्यही सहकारीमा जम्मा गरेको पैसाबाट घरपरिवार चलाउन र भइपरी आउँदा काम पनि लाग्ने गरेको छ बुधनीदेवीले भन्नुभयो ।’
उहाँ, मात्रै होइन धनुषाको नगराइन नगरपालिकाका सीता पण्डितलाई पनि आत्मनिर्भर बन्ने चाहना थियो । श्रीमान विदेशमा भएकाले घरपरिवारको सबै खर्च एक जनाकै भरमा थियो । श्रीमानले पठाएको रकम विदेश जाँदाको ऋण तिर्दै ठिक्क हुँदा घरपरिवार चलाउनै समस्या भयो । त्यसपछि उहाँलाई आफैले केही गर्न पाए हुन्थ्यो भन्ने उहाँको चाहना थियो । उहाँको यो चाहना पनि समृद्धिले पूरा गरिदिएको छ । अहिले उहाँले तरकारी खेतीका साथै परिवारका अन्य सदस्यको र गाउँकै व्यक्तिलाई पनि रोजगारी दिनुभएको छ । ‘मधेसमा छोरी बुहारीलाई घरबाट बाहिर निस्कन पनि निकै सङ्घर्ष गर्नुपर्ने अवस्था छ । तर, समृद्धिले गर्दा म लगायत अन्य बुहारी पनि आफ्ना सपना पूरा गर्न सफल भएका छौँ’ उहाँले खुसी हुँदै सुनाउनुभयो ।
सरकारले अति विपन्न महिलालाई लक्षित गर्दै ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) सुरु गरेको सात वर्ष भयो । विशेष गरी अति विपन्न समुदायका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ नेपालका १६ जिल्लामा यो आयोजना सञ्चालित छ । आयोजनामा आबद्ध भएपछि अति विपन्न समुदायका महिलाको जीवन नै फेरिएको सर्लाहीका फुलकुमारीदेवी महतोको अनुभव छ । घरमा एउटा भैँसी मात्रै हुँदा खासै आम्दानी पनि नहुने र छोराछोरीको भविष्य पनि राम्रो बनाउन चुनौतीपूर्ण रहेको पिरले सताई रहेका बेला समृद्धिले उहाँलाई सहारा दियो । ९ महिना अघि समृद्धिमा आबद्ध भएपछि महतोलाई अहिले घर चलाउन समस्या छैन । छोराछोरी पनि राम्रै विद्यालयमा अध्ययनरत छन् । भैँसी पालनबाट मासिक ३० देखि ४० हजार रुपैयाँ आम्दानी गरिरहेको उहाँ बताउनुहुन्छ । अब आम्दानी र बचत बढाउँदै जाने र एउटा घर बनाउने उहाँको चाहना छ ।
समृद्धिले आयोजनामा आबद्ध महिलालाई ऋण दिने र उनीहरूले उत्पादन गरेका वस्तुको बजार खोजिदिनेलगायत काम गर्छ । आयोजनामा बेरोजगार युवा, विपन्न परिवारलाई आर्थिक रूपले सक्षम बनाउने, विदेशमा रोजगारी गरेर फर्केकालाई स्वरोजगार बनाउन तालिम दिने र रकम उपलब्ध गराउने पनि गरिन्छ । आयोजनामा सरकारलाई उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको कृषि उद्यम केन्द्र, साना लघुवित्त वित्तीय संस्था, हेल्भेटास नेपाल लगायत साझेदार संस्थाले पनि सहयोग गरिरहेका छन् ।
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफाड) ले २०७२ मै आयोजना सुरु ग¥यो । तर, सम्झौता लगतै गएको भुकम्प, कोरोना महामारी लगायतका कारण आयोजना कार्यान्वयनमा चुनौती देखियो । प्रदेश १ का ८, मधेस प्रदेशका ७ र बागमती प्रदेशको १ गरी १६ जिल्लामा सञ्चालित उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) पछिल्लो २ वर्षदेखि प्रभावकारी बन्दै गएको छ । आयोजनालाई देशव्यापी बनाउन सरकारले विभिन्न चरणको छलफल गरिसकेको उद्योग मन्त्रालयका सह सचिव जीवलाल भुसालको भनाइ छ । कार्यक्रम प्रभावकारी हुँदै गएकाले दातृ निकायसँग कार्यक्रमको अन्य जिल्लामा पनि लागू गर्ने विषयमा कुराकानी भइरहेको उहाँले बताउनुभयो ।
आयोजनाबाट पहिलो चरणमा दुई लाख मानिस लाभान्वित हुने सरकारको प्रक्षेपण छ । समाजमा पछि पारिएका समुदायका महिलाले पनि सपना देख्न पाउँछन् र त्यसलाई पूरा गर्न सक्छन् भन्ने उद्देश्यका साथ सुरु भएको आयोजनाबाट विशेष गरी अति विपन्न र मधेसी समुदायका महिलाको नेतृत्व विकासमा मद्दत पुगेको पाइएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९