काठमाडौँ । बागमती प्रदेशले १९ बर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित हात पारेको छ । बागमतीले मंगलबारको खेलमा कर्णाली प्रदेशलाई ७ विकेटले हराएको छ । १ सय ३१ रनको लक्ष्य बागमतीले ३१ औँ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
बागमतीको जितमा लक्की कठायतले अबिजित ५१ तथा कप्तान अशोक पौडेलले ५९ रन बनाउनुभयो । तेस्रो विकेटका लागि कठायत र पौडेलले १ सय ५ रनको साझेदारी गर्नुभयो । कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली ३७ औँ ओभरमा १ सय ३० रनमा अल आउट भयो । कर्णालीका कप्तान विपिन रावलले ६८ रन बनाउनुभयो । बागमती प्रदेशका सक्रिय कार्कीले ५ विकेट लिनुभयो ।
बागमती ४ खेलमा ८ अंक भएपनि रन औषतको कारण दोस्रो स्थानमा छ । सुदूरपश्चिम ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ । लुम्बिनी ४ अंकका साथ तेस्रो स्थानमा छ । यसैबिच, प्रतियोगिताबाट कर्णाली, गण्डकी र मधेश प्रदेश बाहिरिएका छन् । शीर्ष स्थानका दुई टोलीबिच मंसिर १९ गते फाइनल खेल हुनेछ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९, १७:४३