सुनसरी । सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका भगवती चौधरी विजयी हुनुभएको छ । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाई हराउँदै चौधरी निर्वाचित हुनुभएको हो । चौधरी यसअघिका दुई वटा निर्वाचनमा गच्छदारसँग थोरै मतान्तरले पराजित हुनुभएको थियो । यससँगै सातौं पटक सांसद हुने सम्भावना समाप्त भएको छ भने गच्छदारको २०४८ सालदेखिको प्रभुत्व पनि सकिएको आङ्कलन गर्न थालिएको छ ।
चौधरी ५ हजार भन्दा बढी मतले विजयी हुनुभएको र यसको औपचारिक घोषणा भने केही बेरमा मात्र हुने निर्वाचन कार्यालयले जनाएको छ । २०४८ साल यताका कुनै पनि निर्वाचनमा हार नबेहोरेका गच्छदार यस पटक भने फराकिलो मतले पराजित हुनुभयो । २०६४ सालमा काँग्रेस त्यागेर मधेस केन्द्रित दल हुँदै १० वर्षपछि फेरि पुरानै पार्टीमा फर्कनुभएको हो । यस पटक निर्वाचित हुनुभएको भए पनि गच्छदार ललिता निवास जग्गा प्रकरणमा अदालतमा मुद्दा विचाराधीन रहेकाले उहाँ मुद्दाको किनारा नलागेसम्म सांसदका रूपमा संसद् प्रवेश भने गर्न पाउनुहुने थिएन ।
५१ वर्षीय चौधरी २०४८ सालमा अनेरास्ववियूमा संगठित बन्नुभएको थियो । भगवती अहिले एमाले केन्द्रीय सदस्य पनि हुनुहुन्छ । पहिलो संविधान सभामा समानुपातिक तर्फबाट सभासद् रहेकी चौधरी झलनाथ खनाल नेतृत्वको सरकारमा वन राज्यमन्त्री पनि बन्नुभएको थियो । २०५१ सालमा स्थापना गरेको गैरसरकारी संस्था ‘फरवार्ड’लाई २०५९ सालमा फरवार्ड लघुवित्तमा रूपान्तरण गरेपछि चौधरी राजनीतिमा सक्रिय हुनुभएको हो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९, १८:०२