महामन्त्री थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले भावी प्रधानमन्त्रीका रुपमा संसदीय दलमा प्रस्ताव गर्ने बताइसक्नुभएको छ । थापा र शर्मालाई दलभित्रका युवा नेता र संस्थापन इतर समुहको समर्थन रहने पनि ठानिएको छ ।
काठमाडौ । निर्वाचनको अन्तिम मतपरिणाम आइ नसक्दै नयाँ सरकारको नेतृत्वका लािग दौडधुप सुरु भएको छ । कुनै पनि दलले बहुमत नल्याउने भएकाले बहुमत पु¥याउन दलहरूबीच गठबन्धन गर्नुपर्ने अवस्था छ । अहिलेको सत्तारुढ गठबन्धन नै अघि बढ्ला वा नयाँ गठबन्धन बन्ला भन्ने तय भइनसके पनि सबैभन्दा ठूलो दल नेपाली काँग्रेसभित्र संसदीय दलको नेता दाबी गर्नेहरू बढ्दैछन् ।
महामन्त्री गगन थापाले निर्वाचनकै बेला संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि काँग्रेसभित्र तरङ्ग आएको थियो । त्यसबेला चुपचाप रहेका अन्य नेता निर्वाचित भएपछि ‘भावी प्रधानमन्त्रीका रुपमा म पनि तयार छु’ भन्न थालेका छन् ।
नेता रामचन्द्र पौडेलले अबको प्रधानमन्त्रीका रुपमा आपूmलाई सहयोग गर्न अन्य दलका नेतासँग भेटवार्ता थालिसक्नुभएको छ । पूर्व महामन्त्री प्रकाशमान सिंह र शसाङ्क कोइरालाले पनि दाबेदारी प्रस्तुत गर्दै गर्दा गत मंसिरमा भएको चौधौँ महाधिबेशनपछि संस्थापन इतर समुहको नेताका रुपमा स्थापित शेखर कोइरालाले पनि संसदीय दलको नेता बन्ने तयारी गरिरहनुभएको छ । तर, आफ्नै समुहका महामन्त्री थापाले तयारी तीव्र पारेपछि कोइराला के गर्ने भन्नेबारे पर्ख र हेर कै अवस्थामा रहेको उहाँ निकट नेताहरू बताउँछन् ।
प्रधानमन्त्री तथा सभापति शेरबहाुदर देउवा संसदीय दलको स्वतः दाबेदार हुनुहुन्छ । काँग्रेस प्रवक्ता तथा देउवा निकट नेता प्रकाशशरण महत देउवाको विकल्प नभएको बताउनुहुन्छ ।
संस्थापन र इतर गरी दुई पक्ष रहँदै आएको काँग्रेसभित्र भावी प्रधानमन्त्रीको कुराले अर्को पक्ष पनि बन्न सक्ने देखिएको छ । महामन्त्री थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले भावी प्रधानमन्त्रीका रुपमा संसदीय दलमा प्रस्ताव गर्ने बताइसक्नुभएको छ । थापा र शर्मालाई दलभित्रका युवा नेता र संस्थापन इतर समुहको समर्थन रहने पनि ठानिएको छ ।
नेता रामचन्द्र पौडेलले पनि आफू निर्वाचित भए लगत्तैदेखि प्रधानमन्त्रीको दाबी गर्दै नेताहरुलाई सहयोग गर्न आग्रह गर्दै आउनुभएको छ । यसपटक संसदीय दलको नेतामा आफ्नो दावी स्वभाविक रहेको उहाँको भनाइ छ ।
संसदीय दलको नेता बन्न बहुमत सांसदको समर्थन आवश्यक पर्छ । त्यसै कारण आफ्नो पक्षमा बहुमत बनाउन नेताहरूले कसरत सुरू गरिसकेका छन् । संसदीय दलको नेतामा धेरै जनाको दाबी रहँदा पार्टीभित्र अन्यौल उत्पन्न हुने राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउनुहुन्छ ।
एमाले, माओवादी केन्द्र लगायत अन्य दलमा पार्टी अध्यक्षलाई नै संसदीय दलको नेता सर्वसम्मत मानिएको जस्तो देखिएका बेला काँग्रेसभित्र आकांक्षीहरू बढ्नु रोचक देखिन्छ । मुख्य कुरा संसदीय दलको निर्वाचनमा काँग्रेस सांसदले गर्ने मतदानको नतिजाले देश र काँग्रेसको आन्तरिक जीवनमा पनि महत्वपूर्ण अर्थ राख्ने देखिन्छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९, ०७:१५