काठमाडाैँ । निर्वाचन आयोगले बाजुरा र स्याङ्जा-२ मा मतगणना सुरु गर्न निर्देशन दिएको छ । बुधबार बसेको आयोगको बैठकले स्याङ्जा-२ र बाजुरामा मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन आधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो । आयोगले मंसिर ४ गते भएको निर्वाचनलाई नै सदर गर्दै अर्को निर्वाचन गर्न नपर्ने निर्णय गर्दै मत गणना सुरू गर्न निर्देशन दिने निर्णय गरिएको आयोगले जनाएको छ ।
स्याङजा-२ चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेलगायत दलले पुन: मतदानको माग गरेका थिए । बाजुरामा पनि बुथ कब्जा भएको भन्दै एमालेले पुन मतदान गर्न माग गर्दै आयोगमा उजुरी गरेको थियो । विवाद भएको रसुवामा भने भोलि मतदान गर्ने आयोगले निर्णय गरिसकेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९, १४:४८