बाम शक्ती एक नहुँदा अस्थिरता बढेको आङ्कलन गर्नेहरू पनि छन् । अहिलेकै अवस्थामा बाम एकता असम्भव नभएपनि निकै कठिन भने देखिन्छ
काठमाडौ । निर्वाचनमा कुनै दलले आवश्यक बहुमत पाउन नसकेपछि सरकार गठनका विभिन्न विकल्पमाथि बहस सुरू भएको छ । काँग्रेसले निर्वाचनअघिकै पाँच दलीय गठबन्धनलाई कायम राख्दै सरकार बनाउने तयारी गर्दै गर्दा पुनः बाम एकताको चर्चा पनि सुरु भएको छ ।
निर्वाचन अघिसम्म पानी बाराबारकै जस्तो अवस्थामा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षहरू निर्वाचनपछि केही नजिकिएको ठानिएको छ । रौतहटबाट निर्वाचित भएलगत्तै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र लमजुङबाट पराजित भए लगत्तै माओबादी केन्द्रका महासचिव देव गुरुङले वाम एकताको प्रसङ्ग उठाउनुभएको थियो ।
लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेर सत्ता सहकार्यको प्रस्ताव राखेपछि यो विषयले थप चर्चा पायो । सबैभन्दा ठुलो बामपन्थी दल एमालेले बाम गठबन्धनको अगुवाई गर्ने विषय स्वभाविक भएको सचिव योगेश भट्टराईको भनाई छ । तर माओवादी र एकिकृत समाजबादीले कित्ता प्रष्ट पार्नु पर्ने उहाँ बताउनुहुन्छ ।
मतगणनाको अन्तिम परिणाम आउन बाँकी रहेपनि समानुपनतिक समेत गरि एमालेको कम्तिमा ७८ सिट हुनसक्ने देखिन्छ । माओवादीको सम्भावित ३१, राष्ट्रिय दल बन्न सके समाजवादीको १४ तथा जनमोर्चा र नेमकिपाको एक एक सीट गर्दा वाम दलसँग एक सय २५ सिट हुने देखिन्छ । बहुमतका लागि एक सय ३८ सिट चाहिन्छ । बामपन्थी दलले मात्र त्यो सङ्ख्या नपु¥याउने भए पनि स्वतन्त्र र जसपा, लोसपा राप्रपा, नागरिक उन्मुक्ति लगायत दलको सहयोगमा बहुमत पुग्न सक्छ ।
बाम एकताबारे माओवादी केन्द्रले प्रष्ट धारणा बनाईसकेको छैन । महासचिब देव गुरुङ संविधान कार्यान्वयन मुल विषय भएकाले त्यसमा बिचार मिल्नेहरुसँग सहकार्य हुने बताउनुहुन्छ । तत्काललाई बाम एकता माओवादीको प्राथमिकतामा नरहेको उहाँको भनाई छ ।
बामपन्थी दलका शिर्ष नेताको कटुतापूर्ण सम्बन्धलाई बाम एकताको प्रमुख अवरोधमध्ये एक मानिएको छ । राजनितिक विश्लेषक हरि रोका एकताका लागि गम्भीर आत्मसमिक्षा र त्याग आवश्यक भएको बताउनुहुन्छ । तर हाललाई त्यस्तो वातावरण बन्ने सम्भावना न्युन छ ।
अघिल्लो निर्वाचनमा बाम गठबन्धन नै बनाएर बहुमत प्राप्त गरेका एमाले माओबादीले पार्टी समेत एउटै बनाएए । ५ वर्ष नपुग्दै पार्टी विभाजन र सरकारमा समेथ उथलपुथल ब्यहोरेका बामपन्थी दलहरूको एकता चर्चा गरिएजस्तो सहज भने नभएको टिप्पणी गर्नेहरू पनि धेरै छन् । बाम एकता आवश्यक भएपनि तत्कालको परिस्थितिमा सम्भावना नभएको विश्लेषक श्याम श्रेष्ठको बुझाई छ । एमाले र माओवादीले एकअर्काको अस्तित्व स्वीकार्न नसक्दा पनि बामपन्थी एकताले प्राथमिकता पाउन सकेको छैन । अझ नेतृत्वमा देखिएको अहमताले समेत बामपन्थी एकताको विषयलाई ओझेलमा पारेको श्रेष्ठ बताउनुहुन्छ ।
नेकपाको विभाजनपछि बामपन्थी शक्ती कमजोर भएको विश्लेषण कतिपयको छ । बाम शक्ती एक नहुँदा अस्थिरता बढेको आङ्कलन गर्नेहरू पनि छन् । अहिलेकै अवस्थामा बाम एकता असम्भव नभएपनि निकै कठिन भने देखिन्छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९, ०७:३५