काठमाडौ । कतारमा जारी विश्वकप फुटबलमा आज पनि चार वटा खेलहरु हुँदैछन् । राती पौने ९ बजे समूह एफका क्रोएसिया र बेल्जियम तथा क्यानाडा र मोरोक्को बीच प्रतिस्पर्धा हुनेछ । क्यानाडा यसअघि नै प्रतियोगिताबाट बाहिरी सकेको छ भने क्रोएसिया, मोरोक्को र बेल्जियम तीनै टोलीको अघिल्लो चरण प्रवेशको सम्भावना छ ।
साबिक उपबिजेता समेत रहेको क्रोएसिया दुई खेलमा एक जित र एक बराबरी सहित शिर्ष स्थानमा छ । आज बेल्जियमसँग बराबरी मात्रै खेले पनि क्रोएसिया अन्तिम १६ मा पुग्नेछ । तर बेल्जियमलाई भने बराबरीको नतिजा पर्याप्त हुँदैन । उसले मोरोक्को र क्यानाडा बिचको नतिजामा भर पर्नु पर्ने हुन्छ ।
मोरोक्कोले क्यानाडालाई हराएको खण्डमा बेल्जियम बराबरीको नतिजाले प्रतियोगिताबाट बाहिरिने छ । तर बेल्जियमले क्रोएसियालाई हराएको खण्डमा मोरोक्को क्यानाडासँग बराबरी खेले पनि अन्तिम १६ मा पुग्नेछ ।
यसको मतलब तीन वटै टोली जितको दबाबमा हुनेछन् । विश्व बरियतामा दोस्रो स्थानमा रहेको बेल्जियम र गत संस्करणको उपबिजेता क्रोएसिया मध्ये एउटा टोली पहिलो चरणबाटै बाहिरिने सम्भावना प्रबल छ ।
चार पटकको विश्व बिजेता जर्मनी सबैभन्दा दबाब
त्यस्तै राती पौने १ बजे हुने समूह इ का खेलमा जापान र स्पेन तथा कोस्टारिका र जर्मनीले खेल्नेछन् ।
एक जित र एक बराबरीको नतिजा सहित शिर्ष स्थानमा रहेको स्पेन आजको खेलमा जापानसँग बराबरी खेलेपनि अघिल्लो चरणमा पुग्नेछ । तर दुई खेलमा एक जित र एक हार सहित ३ अङ्क जोडेर दोस्रो स्थानमा रहेको जापानलाई भने बराबरी खेल्दा अर्को खेलको नतिजामा भर पर्नु पर्छ । जर्मनीलाई २–१ ले हराएर सनसनीपूर्ण सुरुवात गरेको जापान कोस्टारिकासँग १–० ले पराजित भएको थियो ।
स्पेनलाई हराएको खण्डमा जापान समूह बिजेता बन्दै अघिल्लो चरणमा पुग्नेछ, स्पेनलाई भने अर्को खेलको नतिजामा भर पर्नु पर्ने हुन्छ । तर सन् २०१४ को विश्वकप बिजेता जर्मनी भने सन् २०१८ मा जस्तै यसपटक पनि पहिलो चरणबाटै घर फर्किने सम्भावना बलियो छ ।
जर्मनीले कोस्टारिकालाई हराएर मात्रै पुग्दैन, जापान र स्पेन बिचको नतिजामा भर पर्नु पर्छ । स्पेनले जापानलाई हराएको खण्डमा, कोस्टारिकामाथिको जितले जर्मनीको अघिल्लो चरण प्रवेशको ढोका खुल्नेछ ।
जर्मनीलाई हराउन सके कोस्टारिका पनि अन्मित १६ मा पुग्नेछ । तर बराबरीको नतिजाले सजिलो हुने छैन, जापान हारेको खण्डमा मात्रै कोस्टारिका अघिल्लो चरणमा प्रवेश गर्नेछ । आज जर्मनी सबैभन्दा दबाबमा हुनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९, ०८:१६