काठमाडौँ । यसपालीको निर्वाचनबाट प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता पाउने दलको सङ्ख्या बढ्ने भएपछि संसदीय दलको कार्यालय व्यवस्थापनमा समस्या देखिएको छ।
राष्ट्रिय मान्यता पाउने दलका लागि संसद सचिवालयले सिंहदरवारमा दलको कार्यालय, कर्मचारीलगायतको व्यवस्था गर्छ ।
तर सिंहदरवारको भवनमा कतै खाली नभएपछि सरकारसँग समन्वय गरेर कार्यालयका लागि भवन खोजी भइरहेको सङ्घीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार सकभर सिंहदरवारभित्रै कार्यालय व्यवस्थापनको कोसिस भइरहेको छ ।
'त्यसबाहेक काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलले यसअघिदेखि प्रयोग गर्दै आएको कार्यालयको रङ्गरोगन, मर्मतको काम पनि भइरहेको छ ।' सहायक प्रवक्ता धमलाले भन्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९, ०८:२६