९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसद चाहिन्छ । तर, दुबै गठबन्धनमा बराबर सांसद सङ्ख्या हुँदा समानुपातिकबाट एक सांसद पाउने सम्भावना रहेको संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च सरकारका लागि निर्णायक बन्ने देखिएको छ ।
काठमाडौ । प्रदेशसभा निर्वाचनममा प्रत्यक्षतर्फको परिणाम करिब टुङ्गिन लाग्दा प्रदेश सरकार गठन र सत्ता समिकरणबारे चर्चा सुरु भएको छ । हालसम्मको परिणामअनुसार प्रदेशतर्फ कुनै दलको एकल सरकार बन्ने सम्भावना छैन । त्यसैले सरकार गठनका लागि सबै प्रदेशमा दलहरूको सहकार्य आवश्यक देखिन्छ ।
प्रदेश १ को प्रदेशसभामा प्रत्यक्षतर्फ ५६ निर्वाचन क्षेत्रकै अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रत्यक्षतर्फ सत्ता गठबन्धनले २९ सिट पाएको छ ।
एमालेको २५ र राप्रपाको २ गरी विपक्षी गठबन्धनमा २७ सिट हुने देखिन्छ । समानुपातिकतर्फ गणना जारी रहेपनि कुल ३७ सिटमध्ये एमालेले १४, कांग्रेसले १२, राप्रपा र माओवादी केन्द्रको ४/४, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १/१ प्रदेश सांसद प्राप्त गर्ने देखिन्छ ।
९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसद चाहिन्छ । तर, दुबै गठबन्धनमा बराबर सांसद सङ्ख्या हुँदा समानुपातिकबाट एक सांसद पाउने सम्भावना रहेको संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च सरकारका लागि निर्णायक बन्ने देखिएको छ ।
पार्टीका अध्यक्ष कुमार लिङ्देन त्यस्तो अवस्थामा दुबे पक्षसँग आफ्ना माग राखेर छलफल गर्न सकिने बताउनुहुन्छ ।
‘लिम्बुवान किँरात हाम्रो पहिलो सर्त हो, छलफल चल्दा यही सर्त अघी सार्नेछौँ ।’ लिङ्देनले भन्नुभयो, ‘हाम्रो माग पुरा गर्न सहमत हुनेसँग सहकार्य गर्नेछौँ ।’ त्यसका लागि दुबै पक्षसँग समानान्तर संवाद हुने उहाँले बताउनुभयो ।
एक सय सात सदस्यीय संसद रहेको मधेस प्रदेशमा नयाँ सरकार बनाउने बहुमतका पु¥याउन ५४ सांसद चाहिन्छ । प्रदेशका प्रत्यक्ष ६४ सिटमध्ये एमालेले १५ सिट जितेको छ । कांग्रेसले १३ सिट जितेको छ ।
जसपाले ९ र लोसपाले ७ सिट जितेका छन् भने स्वतन्त्रबाट ६ जना सांसद चुनिएका छन् । माओवादी र एकिकृत समाजवादी ४÷४ सिटमा सिमित हुँदा जनमत पार्टी ६ सिट जित्दै नयाँ शक्तिका रूपमा देखिएको छ ।
प्रत्यक्षतर्फ सत्ता गठबन्धनमा आबद्ध दलले २८ सिट जितेका छन् । समानुपातिकसहित बहुमत पुग्न सक्ने अपेक्षा गठबन्धनको छ । त्यो सम्भव नभए दोस्रो ठूलो दल एमालेले जसपा र जनमत पार्टीसँग मिलेर सरकार बनाउने प्रयास गर्नेछ । त्यसकै लागि अहिले पार्टीहरूबिच छलफल चलिरहेको छ ।
तर, ६ सांसद भएको जनमत पार्टीले प्रदेशको नेतृत्व पाएमा सरकारमा सहभागी हुने अडान राखेको छ ।
सिरहा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित जनमत पार्टीका सञ्जय यादव मुख्यमन्त्रीको बटमलाईन राखेर कुराकानी भईरहेको बताउनुहुन्छ । ‘हाम्रो बटमलाईन मुख्यमन्त्री नै हो । तर केन्द्रमा कुरा भईरहेकाले त्यही सहमतिका आधारमा प्रदेशको समिकरण बन्ने छ ।’
अहिलेको सत्ता गठबन्धन कायम रहे बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिममा यहि गठबन्धनकै सरकार बन्ने देखिन्छ ।
लुम्बिनीमा भने कुनै पक्षको बहुमत आउने सम्भावना छैन । सत्ता गठबन्धनले प्रतक्षतर्फ २४ सिट जितेको छ भने एमाले नेतृत्वको गठबन्धनले २३ सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टीका २, जनमत पार्टीका १ र स्वतन्त्रबाट ३ जना सांसद चुनिएका छन् ।
त्यसैले सरकारका लागि साना दलको भुमिका निर्णायक हुने छ । राजनितिक विश्लेषक जयराज आचार्य धेरै दल मिलेर सरकार सरकार बनाउँदा अस्थिरता झन् बढ्ने बताउनुहुन्छ । ‘अहिले प्रदेशप्रति नागरिकको जुन किसिमको आक्रोस छ, आगामी पाँच वर्षमा त्यो झन् बढ्ने सम्भावना छ ।’ आचार्यले सीआईएनसँग भन्नुभयो ।
प्रदेशतर्फ पाएको मतका आधारमा एमाले पहिलो शक्ति भएपनि चार वटा प्रदेशमा सत्ता गठबन्धनको सरकार बन्न सक्ने देखिन्छ ।
अन्य प्रदेशमा भने दुबै पक्ष बहुमत पु¥याउने कसरतमा छन् । तर, भागवण्डा मिलाउन दलहरूलाई चुनौती देखिन्छ । संघीय सरकारमा बन्ने गठबन्धनले पनि प्रदेश सरकार निर्माणमा निर्णायक भूमिका निर्वाह गर्नेछ ।
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९, ०९:००