मैले कैले पनि व्यक्तिगत चाहना, व्यक्तिगत आग्रहलाई अगाडी सार्ने गरेको छैन । अवस्थाले, दलहरूले के भन्छन्, त्यसअनुसार म आफू तयार छु ।
काठमाडौ । निर्वाचनको परिणाम हेर्दा, प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको नेकपा एमाले समानुपातिकमा पहिलो दल बन्ने निश्चित देखिएको छ । सत्ता गठबन्धन विरुद्ध जसपा र राप्रपासँग मिलेर प्रतिस्पर्धा गरेको एमालेले चुनावी परिणामलाई औपचारिक रूपमा समीक्षा गरिसकेको छैन । तर, कुनै दलले पनि बहुमत प्राप्त नगरेको अहिलेको निर्वाचनपछि अब सरकार कुन कुन दल मिलेर बनाउलान् ? भन्ने चासो भने बढेको छ ? निर्वाचन, परिणाम र आगामी सरकारको विषयमा साथी राजन रुचालले एमालेका उपाध्यक्ष सुवास नेम्वाङसँग कुराकानी गर्नुभएको छ ।
निर्वाचनको नतिजाबारे एमालेको समीक्षा के छ ?
मेरो बिचारमा जुनसुकै परिणाम पनि पूर्ण रूपमा सन्तुष्ट हुने खालको हुँदैन । अहिलेको निर्वाचन परिणामलाई सापेक्षतामा हेर्नु पर्छ । जुन बेला हामी चुनावमा गयौँ, देशमा त्यति बेला केही साथीहरू हाम्रो विरुद्धमा एक ठाउँमा उभिनुभएको थियो । अहिले जनताले जुन जनादेश दिएका छन्, त्यसले निषेधको राजनीतिलाई जनताले अस्वीकार गरेका छन् भन्ने देखाउँछ भन्ने विश्लेषण र ठम्याई छ । यो सन्दर्भमा हेर्दा त्यत्रो ठुलो घेराबन्दीको बिचमा हामीले जुन परिणाम ल्यायौँ, त्यो परिणाम पुरै सन्तोषजनक त भन्दिन किनकि योभन्दा बढी हाम्रो अपेक्षा थियो, तर एक्ला एक्लै ल्याएको लोकप्रिय मतमा हामी प्रथम छौँ । त्यसैले सन्तोष मान्ने आधार छ । तर पूर्णतः सन्तुष्ट होइन । यी आधारहरूलाई केलाएर हामीले अगाडी बढ्नुपर्छ । जनताद्वारा प्राप्त लोकप्रिय मतको आधारमा भन्ने हो भने हामी पहिलो हौँ । हाम्रो संविधानले जे व्यवस्था गरेको छ, त्यो बमोजिम जनताको जनादेश लाई कार्यान्वयन गर्न हामी अगाडी बढ्छौँ ।
गठबन्धन वा तपाईँहरूकै भाषामा घेराबन्दीले गर्दा सोचेजस्तो मत आएन भन्ने कुरा चित्त बुझाउने मेलो त भयो । नयाँ दलहरूको लोकप्रियता र मतलाई पनि हेरिराख्नुभएको होला, त्यसमा चाहिँ तपाईँहरूको धारणा के छ ?
मैले सुरुदेखि नै यसको बारेमा टिप्पणी गरेको छु र आफ्नो कुरा राखेको छु । म यसलाई अलि फरक ढङ्गले लिन्छु । उहाँहरू जब राजनीतिमा आउन थाल्नुभयो, मलाई खुसी लाग्यो र मैले उहाँहरूलाई बधाई दिएँ । किन त भन्दा संयोग र सौभाग्य भनौँ, तपाईँले मलाई प्रश्न सोधिराख्नुभएको छ, म दुवै संविधानसभाको अध्यक्ष थिएँ । मेरै नेतृत्व र हामी सबैको पहल र प्रयासमा जनताले जनताको लागि पहिलो पटक संविधान बनायौँ । त्यही संविधान अन्तर्गत यी सबै साथीहरू भर्खरको निर्वाचनमा सहभागी हुनुभयो । प्रतिस्पर्धा गर्नुभयो र राम्रो सम्मानजनक स्थान प्राप्त गर्नुभयो, यो त खुसीको कुरा हो ।
तर, तपाईँको पार्टी अध्यक्षले त यस्तो सौहार्दता देखाउनु भएको छैन, यिनी झार जस्तै हुन् हलक्क बढेको देखिए पनि लामो समय टिक्दैनन् भन्ने उहाँको टिप्पणी छ । तपाईँले सुन्नु भएको छैन ?
मैले तपाई सँग भर्खरै गरेको टिप्पणी छ नि, यो मैले सुरु देखि नै गरिरहेको टिप्पणी हो । भाषा प्रस्तुति भनेका आ–आफ्नै हुन्छन् । मेरो अध्यक्ष कमरेडले के भन्नुभयो, म त्यतातिर जान चाहन्न । तर मूल रूपमा, हामी लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरूले, शक्तिहरूले यो विषयलाई राजनीतिक रूपमा लिनुपर्छ । अब उहाँहरू चुनौतीको बिचमा हुनुहुन्छ । जति मत ल्याउनुभयो, त्यो मतको सन्दर्भमा भोलि भूमिका खेल्नुपर्छ । त्यसैले उहाँहरूलाई शुभकामना छ ।
अब सरकार गठनको कुरा गरौँ, काँग्रेस पहिलो दल हुने देखिन्छ । उसले नै नयाँ सरकार गठनका लागि पहल गर्दा, एमाले चाहिँ चुप लागेर प्रतिपक्षमा बस्छ कि सरकार गठनका छलफलहरूमा सहभागी बन्छ ?
वास्तवमा अहिले नै सबै कुरा टुङ्गिएको छैन । केही दिन बाँकी छ, हामीले हेर्नु छ । पर्खिनु छ । दोस्रोतर्फ एउटा कुरा तय भइसकेको छ । लोकप्रिय मतको आधारमा सबैभन्दा ठुलो पार्टी नेकपा एमाले हो भन्ने चाहिँ तय भइसकेको छ । जहाँसम्म गठबन्धनका आधारमा प्रत्यक्षतर्फ केही सिट बढी चाहिँ नेपाली काँग्रेसले जितेको छ । जुन कायमै रहने स्थिति म देखिरहेको छु । यो अवस्थामा अब एक शब्दमा भन्नुपर्दा जनताले निषेधको राजनीति छोड, एक अर्कासँग स्वस्थ प्रतिस्पर्धा गरेर, मिलेर संविधान बमोजिम अगाडी बढ भनेर जनादेश दिएको सन्दर्भ छ । अब हामीले नयाँ जनादेश अनुसार अनुसार छलफल गर्ने, सल्लाह गर्ने र देशलाई ठिक ढङ्गले अगाडी बढाउने समय आएको छ ।
तपाईँको पार्टी अध्यक्षले पार्टी कार्यालयमा स्वस्ति शान्ति पनि गरिसक्नुभयो । प्रधानमन्त्री भव: भनेर गुरुबाट आशीर्वाद पनि लिइसक्नुभयो । यसले दिन खोजिएको सन्देश चाहिँ के हो ?
जनताद्वारा प्राप्त लोकप्रिय मतको आधारमा भन्ने हो भने हामी पहिलो हौँ । हाम्रो संविधानले जे व्यवस्था गरेको छ, त्यो बमोजिम जनताको जनादेश लाई कार्यान्वयन गर्न हामी अगाडी बढ्छौँ ।
यसको मतलब, काँग्रेससँग मिलेर पनि एमालेले सरकार बनाउन सक्ने सम्भावना छ ?
अहिले नै यो त्यो भन्नेमा हामी छैनौँ । तर मैले खाली मोटो कुरा भनेँ, नयाँ जनादेश प्राप्त भएको अवस्थामा हाम्रो निर्वाचन प्रणालीले जस्तो खालको परिणाम देशमा आउँछ भनेर कल्पना गरेको छ, त्यो कुरालाई ध्यानमा राखेर हामी जिम्मेवार भूमिका निर्वाह गर्न चाहन्छौँ । त्यस सन्दर्भमा हामी सबै दलहरूसँग बसेर छलफल गर्नको लागि तयार छौँ, मैले भन्न खोजेको कुरा यत्ति नै हो ।
काँग्रेसको कुरा गर्ने हो भने, दोस्रो र तेस्रो पुस्ताका भनिएका नेताहरू प्रधानमन्त्रीमा दाबी गर्दै नेतृत्वलाई दबाब दिई रहेका छन् । तर एमालेमा त्यस्तो स्वर सुनिएको छैन । तपाईँहरूले विकल्प दिन नसकेर हो ? वा तपाईँहरूमा नेतृत्व सम्हाल्ने ल्याकत छैन ?
एउटा कुरो के छ भन्दा, हामीले यी सबै कुरालाई व्यापक रूपमा छलफल गर्याैँ, मन्थन गर्याैँ । यी सबै कुरालाई ध्यानमा राख्यौँ । निर्वाचनभन्दा अगाडी नै लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले एक मिनेटमै निर्णय र घोषणा गर्याैँ । मंसिर ४ को निर्वाचनको कमान्डर पार्टी अध्यक्ष केपी शर्मा ओली, निर्वाचन पश्चात् हाम्रो सरकार र केपी शर्मा ओली त्यसको प्रधानमन्त्री । हाम्रो बिचमा कुनै विवाद रहेन । यो निष्कर्षमा पुग्दा हामीले तपाईँले भनेका सबै कुरालाई ध्यानमा राखेर छलफल गरेका हौँ । सरकार गठन र नेतृत्वको विषयमा हामी एक छौँ ।
यदि वामपन्थी शक्तिले सरकार बनाउने अवस्था आयो भने अब केपी शर्मा ओली नभएर तपाईँको नेतृत्व चाहिँ सर्वस्वीकार्य हुनसक्छ भन्ने चर्चा पनि चलिरहेको छ । यो चर्चा तपाईँले पनि सुन्नुभएको छ ?
यसबारेमा मेरो एउटा प्रस्टै धारणा छ । पार्टीले, सबै दलहरूले, देशले तिमीले यसरी अगाडी बढ्नुपर्छ भनेको बेलामा म कहिल्यै पनि पछाडि हटेको छैन । म व्यक्तिभन्दा पार्टी, पार्टी भन्दा देश र जनता ठुलो हो भन्ने मान्छे । राजनीतिलाई पेसा हैन सेवा हो भन्ने मान्छे । त्यसैले यही कुरालाई ध्यानमा राखेर मैले कैले पनि व्यक्तिगत चाहना, व्यक्तिगत आग्रहलाई अगाडी सार्ने गरेको छैन । त्यसैले अवस्थाले दलहरूले के भन्छन्, त्यसअनुसार म आफू तयार छु । मलाई यति खुसी लागेको छ, कि साथीभाइहरूले अहिले पनि मेरो बारेमा साेचिदिनु भएछ । त्यसको लागि धन्यवाद छ, खुसी छु । तर यो सबै कुरा चाहिँ दलहरूले निर्धारण गर्छन् । मेरो आफ्नो व्यक्तिगत आग्रह केही पनि छैन ।
त्यसमा छलफल गर्नु पर्ला, तपाईँले पनि अलिकति चासो दिनु पर्ला, अब त्यो कामको सुरुवात हुन्छ ?
मेरो चासो यति नै हो । दलहरूले सोचेछन् भने, दलहरूले भनेछन् भने, त्यसको लागि म तयार छु । तर अहिले मेरो व्यक्तिगत कुनै पनि आग्रह छैन । अर्जेन्टिना र मेस्सी सानदार ढङ्गले अघि बढिरहेका छन् । चुनाव पनि ठ्याक्कै त्यस्तै हो । सम्पूर्ण घेराबन्दीको बिचमा पनि एक्लै उभिएर हामी यो ठाउँमा आई पुगेका छौँ । लोकप्रिय मतमा पहिलो पार्टी बनेका छौँ ।
सरकार गठनको सन्दर्भमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी एकै ठाउँमा हुने सम्भावना चाहिँ कति देख्नुहुन्छ ?
यो अहिलेको निर्वाचनको प्रस्ट एउटा सन्देश के हो त भन्दा, यो निषेध होइन है स्वस्थ प्रतिस्पर्धा गर्दै तिमीहरू अगाडी बढ । जनताले दिएको जनादेश यो हो । अब हामीले आपसमा छलफल गरेर, संविधान बमोजिम, यो संविधानलाई कार्यान्वयन गर्दै अगाडी बढ्नुपर्छ । यो एउटा आधार छ । अर्को के छ त भन्दा, राजनीति भनेको सम्भावनाको खेल भन्छन् । कतिपय प्रसङ्गमा प्रश्नहरू पनि उठेका छन् । कोसँग मिलेको चाहिँ स्वाभाविक भयो, अस्वाभाविक भयो, प्राकृतिक भयो, अप्राकृतिक भयो लगायतका प्रश्नहरू उठेका छन् । यी सबै सन्दर्भहरूमा दलहरूले छलफल गर्नुपर्छ र ठिक निष्कर्षमा पुग्नुपर्छ ।
तपाईँको मन पर्ने खेलाडी मेस्सी । अहिले चलिरहेको विश्वकप फुटबलमा मेस्सीको देश अर्जेन्टिनालाई पहिलो खेलमै साउदी अरबले हरायो । अन्तिम १६ मा पुगे पनि अर्जेन्टिनाको खेल स्तरीय देखिएको छैन भन्ने चित्त दुखाइ समर्थकहरूको छ । यसपालि तपाईँलाई पनि राजनीतिक गोल गर्न (चुनाव जित्न) हम्मे हम्मे पर्याे हैन ?
यसपटक घेराबन्दीको बिचमा हामी एक्लै उभिएका हौँ । त्यसैले अरू बेलाको भन्दा यस पटक फरक हो । इलाम मात्रै होइन सबै ठाउँमा हेरौँ न, थोरै मतान्तरले हामी विजयी भएका छौँ । थोरै मतान्तरले हामी हारेका छौँ । यो त एकदम स्वाभाविक हो । मेरोमा मैले सुरुदेखि नै भनेको थिएँ । यसपालि जटिलता छ, चुनौती छ । तर यो चुनौतीलाई पराजित गरेर अगाडी बढ्ने यो हाम्रो लागि राम्रो अवसर हो । त्यसैले अप्ठ्यारो हैन । जस्तो अर्जेन्टिना र मेस्सीको हकमा छ नि, तपाईँले सायद साउदी अरबसँग अर्जेन्टिना हारेको खेल मात्रै सम्झिनु भयो होला । मेक्सिकोसँग सानदार जित्यो । पोल्यान्डसँग अझ सानदार ढङ्गले जित्यो । अर्जेन्टिना र मेस्सी सानदार ढङ्गले अघि बढिरहेका छन् । चुनाव पनि ठ्याक्कै त्यस्तै हो । सम्पूर्ण घेराबन्दीको बिचमा पनि एक्लै उभिएर हामी यो ठाउँमा आई पुगेका छौँ । लोकप्रिय मतमा पहिलो पार्टी बनेका छौँ ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९, ११:१३