ललित सामन्त
दार्चुला । भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धको विरोधमा दार्चुलाको बांगाबगरवासीले सीमा पुल बन्द गरिदिएका छन् । भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धको विरोध गरिरहेका नेपाली नागरिकमाथि दार्चुला पारि भारतको दार्चुलाबाट ढुङ्गा हानाहान भएको र िबराेधमा पुल बन्द गरिएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यसबारे विस्तृत विवरण आउन बाकी रहेको र थप अनुसन्धानका लागि अहिले सिमा क्षेत्रमा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्या र प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेय गएको प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।
आइतबार करिब साढे ३ बजेतिर घटना भएको र केही व्यक्ति घाइते भएको सूचनापछि टोली गएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । ‘केही व्यक्ति घाइते भएपछि पुल बन्द गरिएको खबर आएको छ, वास्तविकता बुझ्न टोली खटिएको छ,’ उहाँले भन्नुभयो ।
भारतले पछिल्ला दिनमा तटबन्ध निर्माणलाई तीव्र पारेको छ । तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीय आक्रोशित छन् । भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप स्थानीय बासिन्दाको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९, १८:१०