काठमाडौँ । १५ दिनअघि भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा र सरकार गठनका बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ ।
बैठक समीक्षामा केन्द्रीत हुने भनिए पनि नयाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री, मन्त्रीलगायतका पदमा कसरी बाँडफाँड गर्ने भन्ने बारेमा पनि कुराकानी हुने नेताहरूले बताएका छन् ।
बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
आगामी दिनमा तय गरिने रणनीतिका बारेमा पनि आजको बैठकमा छलफल हुने काँग्रेस नेता प्रकाशशरण महतले सीआईएनसँग बताउनुभयो ।
यसअघि भएको अनौपचारिक बैठकमा गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा शीर्ष नेताहरू सहमत भए पनि अस्ति नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि एमालेसँगको छलफल र सहकार्यको विकल्प खुला राख्ने निर्णय गरेको थियो ।
लगतै काँग्रेस नेता पूर्णबहादुर खड्का र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचमा फोनमा कुराकानी भएको थियो ।
हिजोको माओवादीको बैठकले भने नयाँ सरकार हालकै गठबन्धनभित्रबाट मिलेर बनाउने निष्कर्ष निकालेको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९, १०:५७