पाँचथर । विश्वमै दुर्लभ मानिने वन्यजन्तु रेडपाण्डा (हाब्रे) जोगाउन प्रदेश १, को पहाडी जिल्ला पाँचथरमा १० वर्ष अघिदेखि चलाइएको समुदायमा आधारित रेडपाण्डा संरक्षण अभियान प्रभावकारी भएको छ ।
रेडपाण्डा नेटवर्कको सहयोगमा स्थानीय दीपज्योती युवा क्लवले रेडपाण्डा बचाउन समुदायस्तरमा अभियान चलाएको हो ।
खासगरी उच्च हिमाली तथा पहाडी भागमा पाइने रेडपाण्डा अर्थात हाब्रे लजालु जनावर हो ।
उभयभक्षी प्राणी हाब्रेले विशेषगरी बाँसका पात र तामा खाने गर्छ ।
नेपाल, चीन, बर्मा, भुटानलगायतका देशमा पाइने हाब्रेको सङ्ख्या कम हुँदै गइरहेको छ । यसको संरक्षणको लागि १० वर्षअघिदेखि अभियान चलिरहेको दीपज्योती युवा क्लवका कार्यक्रम संयोजक पेमा लमु भोटियाले बताउनुभयो ।
हाब्रेको वासस्थान रहेका क्षेत्रमा वन अभिभावकहरूलाई सक्रिय पार्ने, रेडपाण्डा संरक्षणबारे पाठ्यपुस्तक निर्माण गरेर पठनपाठन गराउने काम अहिले भइरहेको उहाँको भनाइ छ ।
याङवरक र फालेलुङ गाउँपालिका साथै फिदिम नगरपालिकाको ९ वटा विद्यालयमा रेडपाण्डा संरक्षणबारे अध्ययनअध्यापन हुन्छ भने १४ जना वन अभिभावक सक्रिय रहेका क्लवका कार्यकारी निर्देशक सुनिल वान्तावा बताउनुहुन्छ ।
वन्यजन्तु र वातावरण संरक्षणको महत्व बुझाउने हाब्रेको बासस्थान बचाउन र वन फडानी रोक्न सुधारिएका चुल्हो वितरण, वृक्षरोपण गर्ने जस्ता काम पनि भइरहेका छन् ।
अभियान चलेसँगै हाब्रेको गतिविधिमा केही बढेको कन्यादेवी सामुदायिक वन उपभोक्ता समूह फालेलुङका सचिव राज कुमार राईले बताउनुभयो ।
संरक्षणका लागि निर्माण गरिएको पीआईटी कोरिडोर अन्तर्गत पर्ने पाँचथर–इलाम–ताप्लेजुङको ६ सय ५ वर्ग किलोमिटर भूभागमा रेडपाण्डा पाइन्छन् ।
६ बर्षअघिको तथ्याङ्क अनुसार पाँचथरमा ४३, इलाममा ४० र ताप्लेजुङमा १ सय ३४ रेडपाण्डा छन् ।
यसको संरक्षणको लागि स्थानीय सरकारले पनि काम गरिरहेको फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगुको भनाइ रहेको छ ।
जनचेतना बढेसँगै हाब्रेको चोरी शिकारी घटेको छ, यद्यपी यसको संरक्षणको लागि राज्यस्तरबाट आवश्यक बजेट र चासो दुबै कम भएको अभियन्ताहरू बताउँछन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९, १२:४४