काठमाडौँ । धार्मिक परम्परा र मान्यताको आडमा हुने लैङ्गिक हिंसा कम गर्न धर्मगुरु तथा सरोकारवाला निकायले आफ्नो भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । वर्ल्ड भिजन इन्टरन्यासनलको सहयोगमा अन्तर धार्मिक राष्ट्रिय सञ्जाल (निरन नेपाल) को आयोजनामा ललितपुरमा भएको कार्यक्रममा सरोकारवालाले यस्तो प्रतिबद्धता जनाएका हुन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा आयोजित संवाद कार्यक्रममा धर्मगुरु र सञ्चार माध्यमले यो मुद्रालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो ।
अन्तरक्रियामा राष्ट्रिय महिला आयोगका प्रवक्ता चमिला भट्राईले आयोगमा महिला हिंसाको उजुरी तुलनात्मक रूपमा बढी आउने बताउनुभयो । जसमा घरेलु हिंसाको उजुरी उल्लेख्य रहेको बताउनुभयो । तर, सातै प्रदेशमा महिला आयोगका कार्यालय स्थापना हुन नसक्दा छिटो छरितो रूपमा उजुरीको सुनुवाइ गर्न नसकिएको उहाँले बताउनुभयो । मानवअधिकार आयोगका लैङ्गिक हिंसा उजुरी फोकल पर्सन एवं अधिकृत कल्पना आचार्यले आयोगले पनि लैङ्गिक हिंसाको उजुरीलाई गहन रूपमा लिएर हिंसा प्रभावितको न्यायमा सरल पहुँचका लागि काम गरिरहेको बताउनुभयो ।
नेपालको संविधानले प्रत्याभुत गरेका मौलिक अधिकार तथा कानुनले महिलालाई परिवार सञ्चालनदेखि राज्य सञ्चालनसम्मका हरेक तहमा समान अवसर, समानता, सहभागिता, प्रतिनिधित्व र अपनत्वको सुनिश्चित गरेको छ । यद्यपि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक‚ छुवाछुत जस्ता महिलाद्वेषी प्रथा‚ परम्परा र अन्धविश्वासका कारण अझै पनि महिला हिंसाको अन्त्य हुन सकेको छैन । तर, हाम्रो प्रथाजन्य अभ्यास र परम्पराले विभेद र हिंसालाई बढावा नदिएको भन्दै यसको अन्त्यको लागि धर्मगुरूहरू अग्रपङ्क्तिमा आउन जरुरी रहेको वैदिक सनातन कर्मकाण्ड महासङ्घका उपाध्यक्ष रामचन्द्र भण्डारीले बताउनुभयो । धर्मको नाममा गलत प्रचार गर्ने परिपाटी वर्षौँदेखि प्रचलनमा रहेकाले कारणले पछिल्लो समय धर्मगुरुहरूले त्यसलाई प्रस्ट पार्ने काम गरिरहेको उहाँको भनाइ छ ।
सीआईएनका व्यवस्थापक दीपक आचार्यले समाजमा रहेका विकृति, विसङ्गतिका विरुद्ध परिवार र समुदाय स्तरमा व्यापक रूपमा सचेतना अभियान सञ्चालन गर्न आवश्यक रहेको छ । कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन, साथै महिलालाई आर्थिक रूपले आत्मनिर्भर बनाउँदै महिला र पुरुषमा भएको असमान शक्ति संरचनामा परिवर्तन गर्न सके मात्र महिलाविरुद्ध हुने हिंसा कम गर्न सकिने बताउनुभयो ।
ललितपुर महानगरपालिकाका महिला विकास महाशाखा प्रमुख महेश्वरी विष्टले लैङ्गिक हिंसा अन्त्य गर्न क्रियाशील सरकारी निकाय‚ सामाजिक सङ्घ–संस्था‚ नागरिक समाज तथा महिला अधिकारकर्मीहरू केन्द्रमा मात्रै सीमित भएर हिंसा कम नहुने भन्दै हिंसा अन्त्यका लागि ग्रामीण समुदायमा पनि अभियान सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
धार्मिक राष्ट्रिय सञ्जाल (निरन नेपाल)का कार्यक्रम संयोजक नहिदा बानुले धर्म शास्त्रमा लैङ्गिक हिंसा गर्नुपर्छ भन्ने कतै उल्लेख नभएको बताउँदै लैङ्गिक हिंसा अन्त्यका लागि धर्मगुरुलाई प्रशिक्षण दिने, धर्ममा भएका कुराहरू व्याख्या गरेर जानकारी गराउन थालिएको बताउनुभयो ।
लैङ्गिकतामा आधारित हिंसा महिला हिंसा मात्रै नभएर लिङ्गको आधारमा गरिने विभेद भएकाले यस्तो हिंसा जो कोहीलाई हुन सक्ने भन्दै हिंसा न्युनीकरणका लागि सरोकारवाला निकायले आफ्नो भूमिका प्रभावकारी बनाउन आवश्यक रहेको कार्यक्रममा सहभागी धार्मिक अगुवाहरूले जोड दिए । ललितपुर महानगरपालिकाको समन्वय तथा वर्ल्ड भिजनसँगको सहकार्यमा सञ्जालले कार्यक्रमको आयोजना गरेको हो ।
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९, १७:२८