काठमाडौँ । सत्तारुढ गठबन्धनका चार दलले गठबन्धनलाई निरन्तरता दिने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शिर्षा नेता सहितको बैठकले निर्वाचनले गठबन्धनको आवश्यकता र सान्दर्भिकता पुष्टि गरेको ठहर गर्दै गठबन्धनलाई कायमै राख्ने सहमति गरेको हो ।
चार दलका शिर्ष नेताले हस्ताक्षर गरेर निकालेको विज्ञप्तिमा निर्वाचनले गठबन्धन मिलेर जान सन्देश दिएको भन्दै त्यसलाई आत्मसाथ गर्दै अघि बढ्ने बताइएको छ । विज्ञप्तिमा थप भनिएको छ– ‘‘हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ । मुलुकका सामु विद्यमान चुनौतीहरुको सामाना गर्नु पर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ ।’
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत नेता सहभागि हुनुहुन्थ्यो ।
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९, १८:३८