जुम्ला । जुम्लाका विशाल बस्ती मध्यको एक हो, ‘रारा गाउँ’ । जुन तिला गाउँपालिकाको १ नम्बर वडामा छ ।
प्राय माटोका छत भएका घर, लस्करै जोडिएका बाडा, कमेरो र रातो माटोले पोतिएका भित्ताले ‘रारा गाउँ’ लाई सुन्दर देखाइरहेका छन् । प्राकृतिक सुन्दरताले भरिपूर्ण यो गाउँका बासिन्दा पिउने पानीको भने अभाव सहन बाध्य छन् ।
‘रारागाउँ’ मुगुको चर्चित ताल रारासँग मेल खाए पनि गाउँको कथा अलि भिन्न छ ।
२०७८ को तथ्याङ्क अनुसार रारामा २ सय ६८ घरधुरी छ । जहाँ १ हजार ६ सय २६ जनसङ्ख्या छ ।
हेर्दामा सुन्दर यो गाउँ आधारभूत सुविधाबाट वञ्चित छ । १६ सयभन्दा धेरै जनसङ्ख्या रहेको यो गाउँमा पानीको मुहान छैन ।
४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजनाको मुल सुक्दै गए पछि गाउँमा पानीको अभाव सुरु भएको स्थानीय नन्दबहादुर बुढाको भनाइ छ ।
गाउँमा चार धारा छन् । ती धारामा पानी आउँछ दैनिक २ घण्टा मात्र । पानी थाप्न भाँडाहरूको लामो लाइन लाग्छ ।
गाउँमा पानीको यति अभाव छ कि पानी थाप्ने निहुँमा छरछिमेकका मासिनबीचमै झगडा हुन्छ ।
रारा गाउँमा सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि पुगे, उनीहरूले सरसफाइमा ध्यान दिनुपर्ने सन्देश पुर्याए तर पानी पुगेन ।
पानीको अभावमा गाउँमा सरसफाइको लागि समेत समस्या छ । सबैभन्दा बढी समस्या महिनावारी हुने महिलाका लागि भएको स्थानीय दन्तकला बुढा बताउनुहुन्छ । ‘यो समयमा सरसफाइका लागि धेरै ध्यान दिनुपर्छ । तर पानी चाहिएजति पाइँदैन ।’ दन्तकलाले भन्नुभयो । ‘सरसफाइ गर्नुपर्छ भन्ने बारेमा थाहा छ । तर हातमुख धुन पनि समस्या छ ।
रारा गाउँ वरिपरि प्रयाप्त जमिन छ । उर्भर भूमि पानीको अभावले मरुभुमि बनेको छ । घर वरिपरिका करेसावारी बाँझो छन् । प्रशस्त जमिन भएको स्थानमा पनि जिल्ला बाहिरबाट ल्याइएको तरकारी र खाद्यान्न खानुपर्ने बाध्यता भएकोमा स्थानीयबासी पनि खुसी छैनन् ।
हाल गाउँमा दुमकली खोपानी आयोजनाबाट ल्याइएको पानी वितरण भइरहेको छ । तर यसले माग धान्न सकेको छैन ।
गाउँमा पानीको नयाँ योजना बनाइदिने गाउँलेले पटकपटक माग गरे ।
हरेक चुनावमा यो विषय एजेण्डा बन्यो । अब भने आयोजना नै सुरु गरेको तिला गाउँपालिका १ का अध्यक्ष जङ्गबहादुर बस्नेतको दावी छ ।
स्थानीय सरकारमा जनप्रतिनिधि आएको ६ वर्ष भयो । प्रदेश, संघ र स्थानीय सरकार कसैले पनि आफ्नो गाउँको लागि पिउने पानीको व्यवस्था गर्न नसकेको भन्दै नागरिकले गुनासो गरिरहेका छन् ।
अडियाे सुन्नुहाेस:
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९, १२:१२