पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका १ चिर्तुङधारामा बिहेको भोज खाएका एक सय भन्दा धेरै जना विरामी भएका छन् ।
चिर्तुङधाराका दानबहादुर गाहाकी छोरीको बिहेमा भोज खाएका बुढाखाण्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका बासिन्दा बिरामी परेका छन् । बिरामीमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने लगायतका समस्या देखिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसिएन मधुसूधन भट्टराईले जानकारी दिनुभयो ।
धेरैजसोलाई स्थानीय स्वास्थ्य चौकीबाट औषधि उपचार गरे पनि ठिक नभएपछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा लगिएको थियो । मिसन अस्पतालका अनुसार उपचारका लागि २२ जना अस्पताल पुगेकोमा चार जनालाई भर्ना गरिएको छ ।
घरमा रहेका बिरामीलाई अहिले गाउँपालिकाको स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य कार्यालयको स्वास्थ्यकर्मीको टोलीले उपचार र परामर्श गरिरहेको छ । खानामा ‘फुड पोइजन’ भएको अनुमान गरिए पनि कारण पत्ता लाग्न नसकेको प्रमुख अधिकारीले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९, १७:५८