काठमाडौ । कतार विश्वकप फुटवल २०२२ को क्वार्टरफाइनल समिकरण पूरा भएको छ । गयराति भएका प्रि–क्वार्टरफाइनलका अन्तिम दुई खेलसँगै क्वार्टरफाइनलमा पुग्ने आठ टोलीको टुङ्गो लागेको हो ।
हिजो भएको पहिलो खेलमा उपाधीको दाबेदार मानिएको स्पेन पराजित भयो । स्पेनलाई अफ्रिकी टोली मोरक्कोले पेनाल्टी सुट आउटमा ३–० ले स्तब्ध बनायो । सन् २०१० को विश्वकप विजेता स्पेनले मोरक्कोसँग निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरी खेलेको थियो । पेनाल्टी सुटआउटमा स्पेनका कुनै पनि खेलाडीले गोल गर्न सकेनन् ।
सन् २०१८ मा भएको रुस विश्वकपमा पनि स्पेन घरेलु टोली रुससँग पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित हुँदै नकआउटबाट बाहिरिएको थियो । उता मोरक्को भने पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । मोरक्को यो विश्वकपको क्वार्टरफाइनमा पुग्ने एकमात्र अफ्रिकी टोली समेत हो ।
राती नै भएको दोस्रो खेलमा गोन्सालो रामोसले विश्वकप २०२२ संस्करणको पहिलो ह्याट्रिक गरेपछि स्वीटजरल्याण्डमाथि शानदार जित निकाल्दै पोर्चुगल १६ वर्षपछि क्वार्टरफाइनलमा पुगेको छ ।
लुसैल स्टेडियममा पोर्चुगलले स्वीटजरल्याण्डलाई ६–१ को फराकिलो अन्तरले हरायो । पोर्चुगलले अब क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकपमा १९६६ मा तेस्रो भएको पोर्चुगल २००६ मा चौथो भएको थियो । त्यसयता २०१० मा अन्तिम १६ बाट बाहिरिएको पोर्चुगल २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो । २०१८ मा नकआउट चरणबाटै बाहिरिएको पोर्चुगल यो संस्करणमा उपाधीको दाबेदार मानिएको छ ।
पोर्चुगल र मोरक्कोसँगै फ्रान्स, इङ्ल्यान्ड, ब्राजिल, अर्जेन्टिना, क्रोयसिया र नेदरल्यान्ड विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । क्वार्टरफाइनलका खेलहरु शुक्रबार र शनिबार हुनेछन् ।
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९, ०६:५६