काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टूमा नेपालले घरेलु टोली नामिबियासँग पहिले फिल्डिङ गर्ने भएको छ । नामिबियामा टस जितेपछि नेपालका कप्तान रोहित पौडेलले पहिले फिल्डिङ गर्ने निर्णय गर्नुभएको हो । खेल दिउँसो पौने २ बजे सुरू हुनेछ ।
नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित शृंखलामा नेपालको यो तेस्रो खेल हो । नेपाल र नामिबियाको यसअघिको खेल वर्षाका कारण नतिजा विहीन भएपछि दुवै टिमले अंक बाँडेका थिए । दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो । नेपाल आज यो शृंखलाको पहिलो जितको खोजीमा छ ।
सात देशका क्रिकेट टोली सहभागी लिग टू मा नेपाल २२ खेलबाट १८ अंकसहित छैटौं स्थानमा छ । नामिबिया २९ खेलबाट ३५ अंकसहित तेस्रो स्थानमा छ । नेपाललाई एक दिवसीय बरियता कायमै राख्न कम्तिमा ९ खेल जित्नुपर्ने बाध्यता छ ।