काठमाडाैँ । नेपाली रङ्गमञ्चको आधुनिक इतिहास अनुसार १९९० सालतिर बालकृष्ण समको नाटक 'उ मरेकी छैन' सिंहदरबारको नाचघरमा पहिलो पटक मञ्चन गरिएको थियो । त्यसयता नेपाली नाटक लेखन र मञ्चनमा थुप्रै उतार चढाव आए । लामो समय रङ्गमञ्च ओझेलमा पर्यो । झन्डै दुई दशक यता रङ्गमञ्चलाई ब्युँझाउने र सक्रिय बनाउने थुप्रै प्रयासहरू भइरहेका छन् ।
यसपालि, काठमाडौँको मण्डला थिएटरले त्यही प्रयासमा एउटा इँटा थप्यो र अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना गर्यो । मण्डला थिएटर मै नौ दिनसम्म चलेको महोत्सव गत शनिवार सकिएको छ ।
महोत्सवमा १२ देशका १८ वटा नाटक मञ्चन गरिए भने नाटकसम्बन्धी विभिन्न कार्यशाला पनि गरिए । रङ्गकर्मी कृष्टिना बस्नेत, महोत्सव अभिनयमा रुचि राख्ने नयाँ पुस्तालाई निकै फाइदा पुगेको बताउनुहुन्छ । ‘विश्वभरिका नाटक हेर्ने अवसर हामीलाई आउँदै आउँदैनथ्यो होला’ बस्नेत भन्नुहुन्छ, ‘महोत्सवले त्यो अवसर हामीलाई दियो । यो निकै भाग्यको कुरा हो ।’
विभिन्न देशका दुई सय भन्दा बढी नाट्य कलाकारले महोत्सवमा एक अर्काको देश, भेष र परिवेश बुझ्न पाए । जुन एउटा कलाकारका लागि सिकाइको महत्त्वपूर्ण पाटो हो भन्नुहुन्छ, कलाकार माधव भुर्तेल । ‘नाटक भनेको जीवन हो । जीवन बुझ्नेले नाटक बुझ्न सक्छ’ भुर्तेल भन्नुहुन्छ, ‘हरेक देशका मानिसहरूको रहनसहन र जीवन बुझ्न पाउनु नै ठुलो कुरा हो ।’ एकले अर्काको संस्कार संस्कृति बुझ्ने माहौल सिर्जना हुँदा यसले नाट्य क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उहाँको धारणा छ ।
राम्रो नाटक लेख्नु र मञ्चन गर्नु कलाकारका लागि सबैभन्दा खुसीको कुरा हो । अन्तर्राष्ट्रिय नाट्य महोत्सवका सञ्चार संयाेजक केदार श्रेष्ठका अनुसार महोत्सवले फरक फरक देशका नाटकमा विविधता र समानता खोज्ने प्रयास पनि गर्यो । ‘हामी सबै जना विदेशमा गएर नाटक हेर्ने अवसर नहुन सक्छ, विदेशीलाई नेपालमा बोलाएर रङ्ग प्रेमीहरूलाई देखाउन पाउनु नै ठुलो सफलता हो’ सीआईएनसँग उहाँले भन्नुभयो ।
महोत्सव, नेपाली रङ्गकर्मीका लागि अन्तर्राष्ट्रिय जगतमा अभिनय क्षमता र मौलिक सिर्जना पस्किने अवसर समेत बनेको नाट्य महोत्सवका निर्देशक सिर्जना सुब्बा बताउनुहुन्छ ।
रङ्गकर्मीले पर्दा भित्र र बाहिरका नाट्य गतिविधि नजिकबाट नियाल्ने अवसर पनि बन्यो महोत्सव । नाटकका विविध आयामबारे खुलेर छलफल भए । अभिनय र प्रस्तुतिलाई बलियो बनाउन सिकाईका कक्षा भए । जसले नेपाली चलचित्र क्षेत्रलाई पनि सहयोग पुर्याएको, महाेत्सवका इभेन्ट म्यानेजर बिजय बरालको अनुभव छ । ‘अभिनेता बन्न पनि यस्तो तयारी गर्नुपर्ने रहेछ, हामीले त निकै सहजता खोज्ने रहेछौँ भनेजस्तो अनुभव भएको छ ’ बराल भन्नुहुन्छ, ‘त्यही कुराले भोलि नेपाली सिनेमा क्षेत्रमा पनि फाइदा पुर्याउला ।’
सबैभन्दा महत्त्वपूर्ण कुरा झन्डै पाँच वर्षको अन्तरालमा दोस्रो पटक आयोजना भएको नाट्य महोत्सवले दर्शकको मायासँगै विभिन्न सङ्घ संस्था र सरकारी निकायबाट पनि राम्रै सहयोग पायो । जुन नेपाली रङ्ग क्षेत्रका लागि खुसीको कुरा भएको महोत्सव व्यवस्थापक गोविन्द पराजुली बताउनुहुन्छ ।
‘आर्थिक पाटोमा पनि काठमाडौँ महानगरपालिका र पर्यटन बोर्डले सहयोग गरे । यो सन्तोषजनक नै हो’ उहाँले भन्नुभयो । नेपाली नाटक घर र रङ्गकर्मीहरुले अभावका बीच पनि अब्बल सिर्जना पस्किरहेका छन् । महोत्सवले अभिनय क्षमतालाई थप माझ्ने काम गरेको, महाेत्सव संयोजक बिजया कार्की बताउनुहुन्छ । उहाँका अनुसार महोत्सवको प्रभावकारिता आगामी दिनका नाटकहरूमा देख्न पाइनेछ ।
‘हामी जो र रङ्गमञ्चमा नै काम गरिरहेका छौँ, हाम्रो काममा केही न केही प्रभाव आउँछ’ कार्कीले भन्नुभयो, ‘जो दर्शकका रूपमा रहेर महोत्सव हेर्नुभयो, उहाँहरूले पनि यसबाट केही न केही सिकेर जानुभएको छ ।’
समाजमा पनि कुनै न कुनै माध्यमले महोत्सवको असर देखिने उहाँले बताउनुभयो ।
महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, अमेरिका र अर्जेन्टिनाका नाटक समावेश गरिएका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९, १७:५७