काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित भयो । २ सय ७६ रनको लक्ष्य पाएको नेपाल ४७ औँ ओभरमा १ सय ८९ रनमा अलआउट भयो ।
कप्तान रोहितकुमार पौडेलले ४४, दीपेन्द्रसिंह ऐरीले ३४, ज्ञानेन्द्र मल्लले ३० र अर्जुन साउदले २९ रन बनाएपनि जितका लागि पर्याप्त भएन ।
पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७५ बनाएको थियो । नामिबियाका लागि मिचेल भान लिन्गेनले १ सय १९ तथा कप्तान ग्रहार्ड इरास्मसले ५३ रन बनाउनुभयो । नेपालका ललितनारायण राजवंशीले ४, सोमपाल कामीले २ र सागर ढकालले १ विकेट लिनुभयो ।
शृंखलामा नेपाल,नामिबिया र स्कटल्याण्ड सहभागी छन् ।
७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा छ भने जितसँगै नामिबिया भने ३० खेलमा ३७ अंकका साथ तेस्रो स्थानमा छ । एकसदिवसीय बरियता जोगाइराख्न नेपाल कम्तिमा पाँचौँ स्थानमा रहनुपर्छ । शृंखलामा नेपालको अन्तिम खेल बिहिबार स्कटल्यान्डसँग हुने छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९, २१:०३