काठमाडौँ । आज योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमाका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ।
दिवसको अवसरमा काठमाडाैँको लगनमा र्याली र बसन्तपुरमा सभा गरिएको छ ।
नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन योमरी पूर्णिमा पर्व मनाउने गर्छन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा रहेको याेमरी पुन्हीलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ ।
नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । गर्भमा रहेको शिशुको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट छोरी चेलीको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि छ ।
यस दिनलाई ज्यापु दिवसका रूपमा समेत मनाउने गरिन्छ । पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कूल पूजा र गोठ पूजा गरी गैडु पूजा गर्ने चलन छ । आज नै धानको विधिपूर्वक पूजाआजा एवम् दान गरी धान्य पूर्णिमा पर्व पनि मनाइँदै छ ।
मङ्सिरमा धान थन्काएपछि धान, गणेश, कुल देवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । आज नै किराँत समुदायले उँधौली पर्व पनि मनाउँदै छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९, १४:२६