काठमाडौ । कतारमा जारी विश्वकप फुटबलमा आजबाट क्वार्टरफाइनलका खेलहरु हुँदैछन् । पहिलो खेलमा आज उपाधीको दाबेदार मानिएको ब्राजिल र साबिक उपबिजेता क्रोएसिया बिच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे हुनेछ । त्यस्तै दोस्रो खेलमा राती पौने १ बजे उपाधीको दाबेदार अर्जेन्टिनाले नेदरल्यान्डको सामना गर्नेछ ।
ब्राजिललाई युवा खेलाडीको भरोसा
नेयमार चोटमुक्त हुँदै फर्केपछि ब्राजिल उत्साहित छ । पहिलो खेलमा एङ्कलमा चोट बोकेपछि नेयमारले समूह चरणका दुई खेल गुमाउनु परेको थियो । नेयमार प्रेरित ब्राजिलले अन्तिम १६ मा दक्षिण कोरियालाई ४–१ ले सजिलै हराएको थियो । ब्राजिलले पहिलो ४५ मिनेट निकै आक्रामक फुटबल खेलेको थियो । अहिलेको ब्राजिली टिमको तुलना सन् १९७० को पेलेको टिमसँग तुलना हुन थालेको छ ।
अब ब्राजिलले सन् २०१८ को उपविजेता क्रोएसियाको सामना गर्दा अन्तिम १६ मा जस्तै राम्रो फुटबल खेल्न कठिन हुनसक्छ । तर यसपटक ब्राजिलका युवा खेलाडीले निकै राम्रो खेलिरहेका छन् । भिनिसियस् जुनियर, लुकास पाक्वेटा, राफिन्हा, रिजार्डलिसन् लगाएतका युवा खेलाडी ब्राजिलका भरोसा हुन् ।
क्रोएसियाले चार वर्षअघि फाइनल यात्रा तय गरेको थियो, अहिले पनि उसको खेल राम्रो छ । अन्तिम १६ मा जापानविरुद्ध क्रोएसिया टाइब्रेकरमा विजयी भएको थियो । यसपालि पनि क्रोएसिया पूर्णतः लुका मोड्रिचमा केन्द्रित छ । क्रोएसियालाई अनुभवि खेलाडीको भर छ । मोड्रिचसँगै मार्सेलो ब्रोजोभिच र मटेयो कोभचिचको मिडफिल्ड कतार विश्वकपमा राम्रो प्रभाव बनाउन सफल छ । क्रोएसियाले ब्राजिललाई स्तब्ध बनाउने नतिजा निकाल्न पनि सक्छ ।
हेड टु हेड
ब्राजिल र क्रोएसिया बिच यसअघि चार खेल भएका छन् । जसमा ब्राजिल ३ खेलमा विजयी भएको छ भने एउटा खेल बराबरीमा सकिएको छ । यी दुई टोलीले पछिल्लो पटक सन् २०१८ को विश्वकप अघि मैत्रीपूर्ण खेल खेलेका थिए । जसमा ब्राजिल २–० ले विजयी भएको थियो । २००६ र २०१४ को विश्वकपमा पनि ब्राजिलले क्रोएसिया माथि जित निकालेको थियो । सन् २००५ मा भएको पहिलो मैत्रीपूर्ण खेलमा भने दुई टोलीले १–१ को बराबरी खेलेका थिए ।
मेस्सी प्रेरित अर्जेन्टिना
अर्जेन्टिना सन् १९७८ को फाइनलमा नेदरल्यान्ड्सलाई हराएर पहिलोपल्ट विश्वकप फुटबलको उपाधी जितेको थियो । सन् २०१४ मा पनि अर्जेन्टिनाले डच टिमको चुनौती पन्छाउँदै फाइनलमा स्थान बनाएको थियो । त्यसअघि सन् १९९८ मा अर्जेन्टिनालाई हराएर नेदरल्यान्ड्स सेमिफाइनल पुगेको थियो । नेदरल्यान्ड्स विश्वकपको क्वाटरफाइनलमा पछिल्ला तीन खेल नै जितेको छ ।
प्रतियोगितामा एक पेनाल्टीमा चुके पनि तीन गोल गरेका ३५ वर्षीका मेस्सी उत्कृष्ट लयमा छन् । उनलाई एन्जल डि मारिया, जुलियन अल्भारेज, लौटारो मार्टिनेज लगाएत खेलाडीको साथ रहनेछ । मार्टिनेजमा पर्याप्त खेल्ने अवसर पाएका छैनन् भने अल्भारेजको खेल निकै राम्रो देखिएको छ । डि मारिया अन्तिम १६ को खेलमा बेन्चमा थिए । आज उनि खेलमा फर्किने र उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । विपक्षी डिफेन्डर मेस्सीलाई रोक्न प्रयत्नसिल रहँदा त्यसको फाईदा अल्भारेज र डि मारियाले लिन सक्छन् ।
मेस्सीले विश्वकपबाहेक सबै प्रतियोगिताको उपाधि जितेका छन् । सम्भवत अन्तिम विश्वकप खेलिरहेका मेस्सीका लागि यसपटक उपाधी जित्ने राम्रो अवसर छ । तर समूह चरणको खेल हेर्दा अर्जेन्टिनाको उपाधी दाबेदारी बलियो देखिएको छैन । अन्तिम १६ मा पोल्यान्डलाई हराउँदा भने टोलीको खेलमा केही सुधार देखिएको थियो । त्यही लयलाई कायम राख्न सके अर्जेन्टिनाले सेमिफाईनलको यात्रा तय गर्न सक्छ । तर भान डाईक नेतृत्वको नेरदल्यान्डस् डिफेन्स तोड्न मेस्सी र उनका साथी खेलाडीलाई सहज भने छैन ।
हेड टु हेड
अर्जेन्टिना र नेदरल्यान्डस् बिच हालसम्म नौ खेल भएका छन् । जसमा चार नेदरल्यान्डस्ले जितेको छ भने तीन खेलमा अर्जेन्टिना विजयी भएको छ । दुई खेल भने बराबरीमा सकिएको थियो । दुई टोली बिचको अन्तिम भेट सन् २०१४ विश्वकपको सेमिफाइनलमा भएको थियो । त्यसमा अर्जेन्टिना टाईब्रकेरमा विजयी भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९, ०८:२२