काठमाडौँ । महोत्तरीको सुगा गाउँ, जसले डाक्टर, इन्जिनियरदेखि सर्वोच्चका न्यायाधीशसम्म जन्माएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिकाबाट डेढ किलोमिटरको दुरीमा पर्छ, सुगा गाउँ । जहाँ पढेलेखेका मानिस भेटिन कुनै मुस्किल छैन । कारण, यहाँको साक्षरता दर ९२ प्रतिशत छ ।
यद्यपी समग्र साक्षरताको हिसाबले मधेश प्रदेश सातै प्रदेशमा सबैभन्दा कमजोर छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार मधेश प्रदेशका ८ मध्ये कुनै पनि जिल्ला पूर्ण साक्षर हुन सकेका छैनन् ।
तर महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर ४ मा पर्ने सुगा गाउँ साक्षरताका हिसाबले नमूना गाउँको रूपमा चिनिान सफल भएको छ ।
पौराणिक कालमा सुकदेव नामक ऋषि गाउँमा बसोबास गरेकाले यो गाउँको नाम सुगा राखिएको मान्यता छ ।
संस्कृतमा सुगा चरालाई सुक पनि भनिन्छ । सुकदेव ऋषिको नामबाट राखिएको सुकदेव विद्यालयमा अध्ययन गरेर नेपाल सरकारको माथिल्लो तहमा पुगेका व्यक्ति यहाँ घरैपिच्छेजसो भेटिन्छन् ।
सुकदेव माविबाट माध्यमिक तह पूरा गरी अहिले स्नातक तहमा अध्ययन गरिरहनुभएका निशा कुमारीलाई गाउँकै अन्य व्यक्ति जस्तै नाम कमाउने चाहना छ ।
उहाँको बुबा शिक्षण पेशाबाट निवृत्त भइसक्नुभएको छ ।
काका पनि सरकारी जागिरमै हुनुहुन्छ । छरछिमेक पनि पढेलेखेका र उच्च तहमा पुगेको हुँदा निशालाई पनि ठूलो मान्छे बन्ने अनि यो गाउँको नाम भविष्यमा सबैले चिनिरहून् भन्ने लागेको छ ।
हाल गैरसरकारी संस्थामा कार्यरत मनोज कुमार लालका बुबा गुञ्जेश्वर लाल कर्ण नेपाल सरकारको सचिवबाट सेवा निवृत्त हुनुभयो ।
उहाँको दाजु र भाइ पनि उच्च तहमै हुनुहुन्छ । उहाँका काका रत्नेश्वर लाल कायस्थ मधेश प्रदेश प्रमुख बन्नुभयो ।
२ सन्तानका बुबा मनोजका छोरी इन्जिनियरिङ विषय पढ्दै हुनुहुन्छ भने छोरा कक्षा ७ मा अध्ययनरत हुनुहुन्छ ।
मनोज सुनाउनुहुन्छ, ‘बाजेबजैको समयदेखि सुगामा अभिभावले आफ्ना सन्तानलाई पढाउनपर्छ भन्ने सोच राख्ने र अरु केही काम भएनभए पनि छोराछोरीलाई पढाउने गर्थे । अहिले पनि त्यो परम्परा कायम छ । पहिलेपहिले त दलित समुदायमा छोराछोरीलाई पढाउने चलन थिएन । तर हिजोआज सबका छोराछोरी विद्यालय जान्छन् । आशा छ दलित समुदायका बालबालिका अबको केही दिनमा ठूलो पदमा पुग्छन् ।’
सरकारी सेवामा रहेका स्थानीय मुकेश कर्ण भन्नुहुन्छ, ‘सुगामा पढ्ने वातावरण सुरुदेखि नै छ । कारण मटिहानीको मठ निकै पुरानो र त्यहाँ पढ्नका लागि नेपालकै विभिन्न जिल्लाका व्यक्तिहरू आउँथे । विद्यालय पनि कलेज पनि थियो । अर्को भनेको थप उच्च शिक्षा अध्ययनका लागि भारत पनि जाने चलन थियो । त्यसैले पनि शिक्षामा सहज पहुँचले सुगाका मानिसलाई शिक्षित र साक्षर बन्न सहज भयो ।’
सुगा गाउँकै कृष्णहरी पुष्कर सङ्घीय अर्थ सचिव हुनुहुन्छ भने पूर्व सांसद कामेश्वर पाण्डे, व्रिशेषचन्द्र लाल, रामचन्द्र तिवारी, सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल, राजनीतिक विश्लेषक सीके लालको गाउँ पनि यही हो ।
पूर्व शिक्षा अधिकारी कृष्णचन्द्र झा सुगाबाट एसएलसी उत्तीर्ण गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । नेपाल सरकारको सेवा निवृत्त कर्मचारी र वरिष्ठ पत्रकारको रूपमा चिनिनुहुन्छ ।
झा भन्नुहुन्छ, ‘सुगा गाउँबाट सरकारका प्रायः सबै निकायमा व्यक्तिहरू पुगेका छन् । अहिले कम्तिमा एसएलसी पास नगरेका कोही पनि भेटिँदैनन् यो गाउँमा ।’
सुगा गाउँबाट धेरै इन्जिनियर, शिक्षक, चिकित्सक, चार्टड एकाउन्टेन्टलगायत व्यक्तित्व राष्ट्रियस्तरमा आफ्नो छुट्टै परिचय बनाउन सफल छन् ।
आर्थिक वर्ष ०६५÷६६ मा सुरु भएको साक्षरता कार्यक्रम १४ वर्षसम्म पनि पूरा हुन सकेको छैन । जसको प्रमुख कारण मधेशका कुनै पनि पालिका साक्षर घोषणा नहुनु हो ।
न्डै डेढ दशकसम्म मधेस प्रदेशका एउटा पालिका पनि साक्षर घोषणा नहुँदा महोत्तरीको सुगा गाउँले भने आफुलाई नमूना गाउँका रुपमा चिनाइरहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९, ०८:४३