नयाँ निर्वाचन पछि प्रतिनिधि सभामा तेस्रो दल बनेको नेकपा माओवादी केन्द्र तेस्रो ठुलो दल बनेको छ । अहिलेसम्म सत्तारुढ गठबन्धन कायमै राख्नुपर्छ भनिरहेको माओवादी केन्द्र सकेसम्म आफैँ सरकारको नेतृत्व गर्ने दाउमा छ । तर, यो विकल्प माओवादीका लागि सहज भने छैन । अर्कातिर निर्वाचनको परिणाम पछि माओवादी केन्द्रले सोचेजस्तो सफलता हात पार्न नसकेको भन्ने चर्चा पनि भइरहेको छ । माओवादीको चुनावी समीक्षा, सरकार गठनमा खेल्ने भूमिकालगायत विषयमा साथी राजन रुचालले माओवादी केन्द्रका सचिव, राम कार्कीसँग गर्नुभएको कुराकानीको सम्पादित अंश–
माओवादी केन्द्रले चुनावी परिणामलाई कुन रूपमा लिएको छ ?
माओवादी पार्टीले यो परिणामलाई चित्तबुझ्दो मान्नुपर्छ । किनभने हामी सबैले अभिव्यक्त गरेको कुरा के हो भने, हाम्रो राजनीतिक आन्दोलनमा स्खलन भएको छ । हाम्रो मूल्य प्रणाली र आचरणले परिवर्तनको बाहक भन्ने परिचय दिई रहेको छैन । यस्तो अवस्थामा आएको यो नतिजामा चित्त बुझाउनुपर्छ ।
राजनीतिक स्खलन चाहिँ अरू दलमा भन्दा माओवादीमा बढी देखिएको हो ?
त्यो स्वभाविक हो । किनभने माओवादी आन्दोलनमार्फत जनताले जुन बलिदान गरे त्यति ठुलो बलिदान अरू कुनै पार्टीको नेतृत्वमा भएको छैन । त्यसैले त्यो आन्दोलनको नेतृत्व चाहिँ माओवादी पार्टीले गरेको हुनाले माओवादीसँग अपेक्षा पनि जनताको बढी हुने नै भयो र त्यो परिपूर्ति नहुँदा निराशा र आक्रोश पनि स्वाभाविक रूपमा बढी नै देखियो । मान्छेलाई आफ्नैसँग त बढी दुख लाग्छ नि ।
तर, यस पटक गठबन्धन नभएको भए त माओवादीको हालत निकै दयनीय हुने रहेछ, हैन ?
त्यस्तो चाहिँ म मान्दिन, माओवादी पार्टीले काँग्रेस र एमालेको धारभन्दा फरक धार वा तेस्रो मोर्चा लिएर अघि बढ्छौँ भनेको भए, हाम्रो स्थिति निकै राम्रो हुन सक्थ्यो । तपाईँले सङ्केत गर्नुभएजस्तो हुने थिएन ।
२०६४ सालमा जस्तो तपाईँहरूको अवस्था अर्कै थियो, तर त्यस यताको १५ वर्षमा दिन दुई गुणा रात चार गुणाका दरले ओरालो यात्रा देखिन्छ, मान्नुहुन्छ ?
एउटा मार्क्सबादीको हिसाबले म के भन्छु भने, प्रत्येक खास पार्टीले खास सामाजिक वर्गको प्रतिनिधित्व गरेको हुन्छ । त्यस मानेमा कुनै पनि पार्टी सबै वर्गको पार्टी बन्न सक्दैन । मूलतः खास पार्टीले खास वर्गको मात्रै प्रतिनिधित्व गरेको हुन्छ । २०६४ सालमा माओवादी पार्टीलाई सहरका सम्भ्रान्त, धनी मानी कसैको पनि समर्थन थिएन । त्यति बेला के भइदियो भने नामै नसुनिएको, कहिल्यै चर्चा नै नगरिएको वर्गको ठुलो समर्थन माओवादीलाई प्राप्त भयो । तर, अहिले के भयो त भन्दा, माओवादी पनि सम्भ्रान्त वर्गको पार्टी बन्न खोज्यो । त्यसले माओवादी न त सम्भ्रान्तको पार्टी बन्न सक्यो न त मजदुर किसान लगायत तल्लो वर्गका नागरिकको पार्टी रहन सक्यो । अवस्था कस्तो छ भने हामी नेताहरूका घर ठुला हुँदै गए । तर पार्टी चाहिँ खिइँदै गयो । यो चिन्ताजनक विषय हो ।
माओवादीको ओरालो यात्राको कारक चाहिँ सिद्धान्त, बिचार कि नेतृत्व हो त ?
बाहिर देखिने चाहिँ नेतृत्वको रहनसहन, लवाई खवाई देखिन्छ । तर, यसको जड चाहिँ अर्कै छ । हामीले गणतन्त्र आइसकेपछि शिक्षामा व्यापक सुधार गर्नुपर्थ्यो । पाठ्यक्रमलाई विज्ञानसम्मत बनाउनुपर्थ्यो । आज पनि पाठ्यक्रम उस्तै छन् । पाठ्यक्रममा जात व्यवस्थाका कुराहरू आज पनि उस्तै छन् । माओवादीले बौद्धिक सम्पत्ति माथि ध्यान दिनुपर्थ्यो । मान्छेको सोच्ने तरिकालाई फेर्ने कोसिस गर्नुपर्थ्यो । त्यसको सुरुवात शिक्षाबाट गर्न सकिन्थ्यो । अब विश्वास हैन विज्ञानतिर जाउन् भन्ने कार्यक्रम चलाउनुपर्थ्यो ।
यो १५ वर्षको अवधिमा, झन्डै १३ वर्ष माओवादी सरकारमा छ । त्यसमा पनि शिक्षा मन्त्रालय माओवादीको रोजाईमा रहँदै आएको छ । आफ्नै नेतृत्वमा भएको मन्त्रालयमा किन सुधार गर्न सक्नुभएन त ?
हामी सधैँ भन्ने गर्छौँ सडक, सदन र सरकार । त्यसमा पनि मुख्य सडक भन्छौँ । तर न सडकमा हामी छौँ । न सदनमा हाम्रो कुनै सङ्घर्ष छ । हाम्रो पुरै ध्यान कहाँ छ त रु भन्दा सरकारमा छ । कुनै राजनीतिक पार्टीले के भन्छ भन्ने कुरा महत्त्वपूर्ण होइन, के गर्छ भन्ने चाहिँ महत्त्वपूर्ण हो । त्यसमा त तपाईँले भने जस्तै के देखियो भन्दा, हामी त सरकारमा टाँसिन मात्रै खोजिरहेका छौँ जहिले पनि । जुनियर पार्टनर बनेर । स्वाभाविक रूपमा अहिले पनि हामीले एउटा न्युनतम साझा कार्यक्रम अगाडी ल्याएर लागू गर्ने कोसिस गर्नुपर्छ । तर, यहाँ त्यस्तो सम्भावना छैन । किनभने अनुहार हेरेर, आँखा हेरेर गठबन्धन बनेको छ । जब मोर्चाबन्दी त्यसरी हुन्छ, तब काम कसरी हुन्छ रु अहिले पनि हामीले गलत चिजहरूको विरुद्ध आवाज उठाउने काम गरिरहनुपर्छ ।
तपाईँले माओवादी केन्द्र सरकार टाँसिन हुन्न भनेर भन्नुभयो, तर यस पटक पनि सरकारमा सहभागी हुने हतारोमा देखिन्छ । किन ?
तपाईँको कुरामा अझै केही शब्द थपि दिउँ । हामीले काँग्रेस र एमालेसँग तुलना गर्ने हो भने, राम्रा काम गरेको पनि देखिन्छ । उदाहरणकै लागि उज्यालो नेपालको कुरा होला । तर २०६४ सालसम्म जनताको जुन साथ सहयोग थियो, जनताको त्यो विश्वासलाई कायम राख्ने गरी माओवादीले काम गरेको देखिएन । स्वाभाविक रूपमा माओवादीले एकदमै गम्भीर समीक्षा गर्नुपर्छ । माओवादी आफैँले स्थापित गरेको गणतन्त्र शिक्षामा, स्वाथ्यमा, कृषिमा उद्योगमा र समुदायमा लैजान सकेनौँ ।
अब सरकारमा माओवादी आफ्नै नेतृत्वमा जान्छ कि यजुनिर पार्टनर बनेर जान्छ ?
यो मेरो धेरै अभिरुचिको विषय होइन । तर, तपाईँले सोध्नुभएको हुनाले जवाफ दिनै पर्छ । अहिले गठबन्धनका विभिन्न घटकले कसलाई चाहन्छन् रु कसलाई बढी विश्वास गर्छन्, त्यो ढङ्गले सरकारको नेतृत्व तयार हुन्छ भन्ने लाग्छ ।
तर, तपाईँको पार्टी अध्यक्ष प्रचण्डले चुनाव अघि काँग्रेसको नेतृत्वमा सरकार थियो, त्यसकारण आलोपालो नेतृत्व गर्दा यस पटक माओवादीले नेतृत्व पाउनुपर्छ भनिरहनुभएको छ, पार्टीको लाइन यही हो ?
त्यो पनि जायज हुन्छ । किनकि १८ महिना काँग्रेसले सरकार चलायो । आकारकै कुरा गर्ने हो भने काँग्रेसको पनि त्यति बेला कति सिट थियो र रु अहिले राजनीतिक जुन पार्टनरहरू छन्, उनीहरूले के भन्छन् त्यो पनि हेर्नु,सुन्नु पर्छ ।
एकीकृत समाजवादीले त माधव नेपाललाई पनि एक वर्षका लागि प्रधानमन्त्री चाहियो भन्ला नि ?
त्यो अर्कै कुरा भयो । तर समग्रमा अहिले पनि विकल्पको राजनीति आएन । त्यही भएर मतपत्र मार्फत राजनीतिक नेतृत्वलाई अवज्ञा गरेको थियो । यो असन्तोष, यो आक्रोश, यो क्षुब्धता अझ चर्को रूपमा आयो भने अहिलेका राजनीतिक दललाई बढार्छ । यसै गरी चलेकै थियो, चलेकै छ, चलिरहने छ भनेर सोचिरहने हो भने, सामान्य बतास जस्तो होइन, आँधी हुरी नै आउन सक्छ । त्यो पनि विकल्पसहितको ।
तपाईँहरूको पहिलो प्राथमिकता चाहिँ प्रधानमन्त्री हो कि राष्ट्रपति ?
यो व्यवस्थामा त सबैको प्राथमिकता प्रधानमन्त्रीमै हुन्छ नि । यो त गाई बस्तुलाई हरियो घाँस एकातिर र पराल एकातिर राखिदिएर कतातिर मुन्टो बटार्छ भने जस्तै भो नि ।
प्रधानमन्त्री पाउँदा तपाईँको पार्टीबाट उम्मेदवार को हो ?
हाम्रोमा त एकदम स्पष्ट छ प्रचण्ड कमरेड ।
अनि राष्ट्रपति पाउँदा ?
त्यसमा त छलफल नै भएको छैन ।
तर तपाईँहरू सरकारमा जाँदै गर्दा एमालेसँग पनि सहकार्य हुनसक्छ भन्ने लाइनमा हुनुहुन्छ क्यारे हैन ?
त्यो त करेक्सन भइसकेको छ । अघिल्लो दिन प्रवक्ताले बोलेको कुरा भोलिपल्ट महासचिबले सच्याईसक्नुभएको छ । हाम्रो पार्टीको आधिकारिक लाइन गठबन्धनकै सरकार भन्ने हो ।
एमालेसँग सरकार बनाउने गरी सहकार्यको सम्भावना चाहिँ सकिएको हो ?
यस्तो खालको संसदीय राजनीतिमा सहकार्य नै हुँदैन भन्ने त भएन । तर तत्काललाई त्यस्तो सम्भावना कमजोर छ ।
पार्टी एकताको सम्भावना चाहिँ कति छ ?
नेपालका कम्युनिस्टहरू एउटा नयाँ बिचारलाई अगाडी ल्याएर एक ठाउँमा आउनै पर्छ । तर अहिलेकै जस्तो सोचाई अहिलेकै जस्तो नेतृत्वमा चाहिँ त्यो सम्भव छैन ।
नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने कुरा पनि चर्चामा छ, त्यो चाहिँ कति सत्य हो ?
अहिले हामी एउटै मोर्चामा एउटै गठबन्धनमा भएका कारणले हाम्रो बिचमा सकारात्मक ढङ्गले छलफलहरू भई रहेका छन् । स्वाभाविक रूपमा उस्तै बिचार र सोच लिने पार्टीहरू एक हुने सम्भावना रहन्छ नै ।
त्यो बेला माओवादी भन्ने नाम कतै रहन्छ कि रहन्न पार्टीमा ?
अब हाम्रो जोड त स्वाभाविक रूपमा माओवादी भन्ने जुन धरोहर छ, जुन नासो छ, त्यसलाई नछोडौँ भन्नेमै रहन्छौँ ।
अहिले बहसमा रहेको विषय जनताले पुरानै पार्टीबाट नयाँ नेतृत्व खोजे भन्ने छ, त्यसमा तपाई के भन्नुहुन्छ ?
उमेरको कुरा पनि हामी सुन्छौँ, नेताहरू बुढा भइसके भनेर । तर हामीले उमेरको कुरा भन्दा नयाँ बिचारको कुरा गर्नुपर्छ । नयाँ बिचारसहितको युवा भए राम्रो । नयाँ नेतृत्व भन्दै गर्दा, उमेरको होइन, नयाँ बिचारको बहस हुनुपर्छ ।
कांग्रेस, एमाले, माओवादीमा नयाँ बिचारको बहस गर्न सक्ने युवा नेता नै छैनन् ?
खै त अहिलेसम्म त खासै देखिएन ।
त्यसो भए तपाईँको पार्टीमा पनि प्रचण्डको विकल्प छैन ?
अहिलेकै जस्तो सरकार चलाउन त हाम्रो पार्टी भित्र प्रचण्ड कमरेडका विकल्प जति पनि छन् । तर नयाँ बिचारको बहस चलाउने र नेतृत्व गर्ने युवा चाहिँ माओवादीमा पनि र अरू पार्टीमा पनि मैले देखेको छैन ।
अबको प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपाल मध्येबाटै बन्ने हो ?
त्यस्तो भविष्यवाणी त म गर्न सक्दिन । तर अहिले नै नयाँ नेताले नेतृत्व गर्ने अवस्था चाहिँ मैले देखेको छैन । नयाँ बिचारको बहस दरिलो गरी आएकै छैन, कसरी नयाँ नेतृत्व आउँछ भन्ने ।
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९, १७:३६