काभ्रे । काभ्रेको महाभारत गाउँपालिकामा रेबिज सङ्क्रमणको त्रास बढेको छ । महाभारत वडा नम्बर १ को गोकुले र वडा नम्बर ८ को घर्तिछापमा पछिल्लो तीन हप्ता यता रेबिज लागेर ८ वटा जनावर मरेका छन् भने ९ जना मानिसलाई कुकुरले टोकेको छ। गोकुलेमा ६ वटा जनावर मरेको वडा अध्यक्ष कान्छामान जिम्बाले जानकारी दिनुभयो । गाउँमा धमाधम जनावर मर्न थालेपछि स्थानीयबासिन्दा थप चिन्तित भएको उहाँले बताउनुभयो ।
मङ्सिर १३ गते गोकुलेका थिर माया श्रेष्ठले पालेको गाई मरेको थियो । पछि जाँच गर्दा उक्त गाईमा रेबिज पुष्टि भयो । गाई मर्नुभन्दा केही दिनअघि गाईको काँचो दूध पञ्चामृतका रूपमा धेरै जनाले खाएका थिए । सोही कारण पनि स्थानीय बासिन्दा स्थानीय पञ्चलाल जिम्बाको भनाइ छ ।
कुकुर कै कारण स्थानीय असुरक्षित रहेकाले उपयुक्त कदम चाल्न पालिका लगायत सरोकारवाला निकायले चाल्नुपर्ने स्थानीय बासिन्दा ओम श्रेष्ठको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तम सेढाइँले रेबिज सङ्क्रमणको खबर थाहा पाउने बित्तिकै रेविजविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
यसअघि, काभ्रेको भुम्लु गाउँपालिकामा रेबिजका कारण ५० भन्दा बढी जनावर मरेका थिए । खुल्ला गोठ, छाडा कुकुर र जङ्गली जनावरका कारण रेबिज फैलिएको आशङ्का गरिएको छ । चिकित्सकले कुकुर वा अरू जनावरले टोकेको भए तुरुन्त रेबिज विरुद्धको खोप लगाउन तथा आफूले पालेका जनावरलाई पनि रेबिज विरुद्धको खोप लगाउन आग्रह गरेका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९, १९:०५