नवलपरासी । गैँडाकोट उद्योग वाणिज्य सङ्घ हिजो (आइतबार) देखि उद्योग वाणिज्य सङ्घ बर्दघाट सुस्ता पूर्व भएको छ ।
नवलपरासी बर्दघाट सुस्ता पूर्वका सम्पूर्ण व्यवसायीहरूको छाता सङ्गठनको रूपमा नेपालकै सबैभन्दा कान्छो उद्योग वाणिज्य जिल्ला सङ्घ भएको हो । उद्योग वाणिज्य महासङ्का केन्द्रीय अध्यक्ष भवानी राणाले घोषणा पत्र पढ्दै जिल्ला सङ्घको रूपमा स्तरोन्नति भएको घोषणा गर्नुभएको छ ।
राणाले नवलपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने बताउनुभयो । यस क्षेत्रमा गैँडाकोटको मौलाकालिका मन्दिरदेखि त्रिवेणीको गजेन्द्र मोक्ष धामलगायत विभिन्न ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र रहेकाले धार्मिक पर्यटनको सम्भावना रहेकोमा जोड दिनुभयो ।
‘यस क्षेत्रमा कृषि र पर्यटनको ठूलो सम्भावना रहेको हुँदा कान्छो उद्योग वाणिज्य सङ्घले यसतर्फ आफ्ना काम अघि बढाउने विश्वास लिएको छु ।’ अध्यक्ष राणाले भन्नुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चन्डीराज ढकालले उद्योग वाणिज्य सङ्घ गैँडाकोट जिल्ला वािणज्य सङ्घ घोषणा भएसँगै यस क्षत्रका अन्य उद्योग वाणिज्य सङ्घले मापदण्ड पूरा गरे नगरस्तरीय उद्योग वाणिज्य सङ्घको दर्ता पक्रिया अघि बढाउन सकिने धारणा राख्नुभयो ।
उद्योग वाणिज्य महासङ्का केन्द्रीय उपाध्यक्ष किशोर प्रधानले उत्पादनमूलक क्षेत्रमा उद्योगी व्यवसायीहरूलाई प्रोत्साहन पुग्ने कार्यक्रम गर्न सुझाव दिनुभयो ।
उद्योग वाणिज्य सङ्घ गँैडाकोटका अध्यक्ष अमृत भट्चनले नयाँ घोषणा भएको जिल्ला वाणिज्य सङघले कृषि, पशुपालन, पर्यटकीय क्षेत्र, उद्योग व्यवसायका सबै आयामहरूमा ठोस परिवर्तन देखिने गरी काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
चौँथो साधारण सभामा उद्योग वाणिज्य सङ्घको १७ लाख २८ हजारको आय र १६ लाख ५६ हजारको व्यय प्रस्तुत गरिएको थियो । कार्यक्रममा उत्कृष्ट उद्योगी व्यावसायीहरुलाई सम्मान पनि गरिएको थियो ।
यसैबीच उद्योग वाणिज्य सङ्घ गैँडाकोटले जिल्ला उद्योग वाणिज्य सङ्घको बहुउद्देश्यीय भवनको शिलन्यास गरेको छ । महासङ्घका केन्द्रीय अध्यक्ष भवानी राणाले नयाँ भवनको शिलन्यास गर्नुभयो ।
घोषणासभा तथा चौथो वार्षिक साधारणसभामा बोल्दै प्रदेश सभा सदस्य विष्णु लामिछाने, ओमकला गौतम, पूर्व सांसद महेन्द्रध्वज जीशी, नवलपुरका प्रमुख जिल्ला अधिकारी दीपक नेपाललगायतले आआफ्नो विचार राख्नु भएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५, १०:०८