काठमाडौँ । रामेछापका केशर बोहोरा तरकारी किन्न ललितपुरको पाटनढोका नजिकै एक पसलमा पुग्नुभयो तर तरकारीको मूल्य सुनेपछि उहाँ झस्किनुभयो । अरुको दाँजोमा गोलभेडाको मुल्य आकासीएको उहाँले बताउनुभयो । सरकारले महङ्गी रोक्नका लागि पहल गर्नुपर्ने उहाँले माग गर्नुभयो ।
सिन्धुपाल्चोकका मिश्रा अधिकारीको परिवारले पनि दैनीक उपभोग्य सामग्री किनेरै खानुपर्छ । तर हिजोआजको महङ्गीले गुजारा चलाउन मुस्किल भएको छ । ‘खाना खाँदा तरकारी नखाइ सुखै छैन, के गर्नु तरकारी खाउँ भने भाउ बढेर सबै पैसा तरकारी मै खर्च हुन्छ ।’अधिकारीले भन्नुभयो ।
तरकारी पसल सञ्चालक पार्वती कार्की भने कालिमाटीबाटै महङ्गोमा किनेर ल्याएकाले आफूले महङ्गोमा बिक्री वितरण गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जतिमा किनेर ल्याइयो, त्यतिमै बिक्री गर्न पनि मिलेन । पाँच/दश रुपैयाँ फाइदा खानै पर्यो । गाडी भाडा उठाउनै पर्यो, भरिया भाडा दिनैपर्यो ।’
खाद्यान्नदेखि तरकारीमा ५० देखि सय प्रतिशत भाउ बढेको एक हप्ता भयो । सरकार र बिचौलियाको मिलेमतोका कारण यस्तो अवस्था आएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सैनाले दाबी गर्नुभयो । सरकार जहिले पनि बिचौलियाको दलदलमा फसेका कारण बजारमा विशेषगरी हरियो तरकारी र खाद्यान्न सामग्रीसँगै तेलहन र चिनीको मूल्य अत्याधिक बढेको उहाँको भनाइ छ ।
दैनिक उपभोग्य सामग्रीको भाउ बढेको बारे सरकारी निकाय पनि जानकार छ । आफूहरूको अनुगमन सुरु भएपछि मङ्हगी घट्दै गएको दावी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनको छ ।
किसानको बारीबाट सस्तोमा किन्ने तर बजारमा पुर्याउँदासम्म दोब्बरतेब्बर भाउ बढाउने बिचौलियालाई कारबाहीको दायरामा नल्याउँदासम्म महङ्गीबाट उपभोक्ताले मुक्ति पाउने देखिँदैन ।
महङ्गी किन बढ्यो भनेर गएको एक हप्तादेखि विभागले अध्ययनअनुसन्धान सुरु गरीसकेको र छड्के अनुगमनसमेत गर्ने उहाँले बताउनुभयो । विभागले अनुसन्धान सुरु गरेलगत्तै केही तरकारी र खाद्यान्न सामग्रीको मूल्य घटीसकेको गौचन तर्क छ ।
भारतमा चुनाव हुँदा होस् वा अरु कुनै भइपरी आउने घटनाका कारण हरेक वर्ष नेपालमा महङ्गी बढ्छ ।
यो समस्या समाधानको उपाय के छ ? भन्ने प्रश्नमा कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डाक्टर युवकध्वज जिसीले भन्नुभयो, ‘कृषि प्राविधिक र कृषि मन्त्रालय एक्लैले गरेर मात्र कृषिमा आत्मनिर्भर हुन सकिँदैन । कृषि, कृषिजन्य निकायसँगमात्र नभई ऊर्जा, जलस्रोत, सीँचाइ, अर्थतन्त्र, सडक, बजार सबैसँग जोडिएकाले सबैले हातोमालो गर्नुपर्छ ।’
काठमाडौँ उपत्यकामा खपतका लागि कालिमाटी तरकारी बजारमा दैनिक सात सय ५० टनसम्म तरकारी भित्रिने गर्छ ।
किसानको बारीबाट सस्तोमा किन्ने तर बजारमा पुर्याउँदासम्म दोब्बरतेब्बर भाउ बढाउने बिचौलियालाई कारबाहीको दायरामा ल्याउन सरकार आक्रामक रूपमा प्रस्तुत नभएसम्म महङ्गीको चपेटाबाट उपभोक्ताले मुक्ति पाउने देखिँदैन ।
सरकारले बजेट ल्याएपछि महङ्गी बढ्ने यसअघि देखिएको थियो तर यसपटक भने बजेटअघि नै दैनीक उपभाोग्य सामग्रीको भाउ बढेको छ । तरकारीमा सबैभन्दा धेरै भाउ बढेको छ ।
अडियो सुन्नका लागि क्लिक गर्नुहोस्ः
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६, १४:३६