काठमाडौँ । कतारमा चलिरहेको विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दै छन् । मङ्गलवार मध्य राति पौने १ बजे सुरु हुने खेल अर्जेन्टिना र क्रोएसियाका लागि मात्र नभएर दुवै टिमका कप्तानका लागि पनि विशेष छ ।
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र क्रोएसियाका कप्तान लुका मोड्रिच अन्तिम विश्वकप खेलिरहेका छन् । यस कारण पनि उनीहरू फुटबल जीवनको सर्वाधिक ठुलो उपाधि उचाल्न मरिमेटेर लाग्नेछन् । यो सपना पूरा गर्न उनीहरूले आफ्नो टिमलाई आज जिताउनुपर्ने छ, अर्थात एकले अर्कोलाई हराउनुपर्ने छ ।
सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै गर्दा अर्जेन्टिना अघिल्लो संस्करणमा बेहोरेको ३-० को हारको बदला पनि लिन चाहन्छ । २०१८ को विश्वकपमा क्रोएसियाले सन् १९९८ को विश्वकपमा भोगेको १–० को हारको बदला लिएको थियो । ३७ बर्षका मोड्रिच र उनीभन्दा २ बर्ष कान्छा मेस्सी दुबैजना आआफ्ना टिमका लागि प्रेरणा हुन् ।
क्वाटर फाइनलमा क्रोएसियाले पाँच पटकको विश्व विजेता ब्राजिललाई स्तब्ध पारेको थियो । निर्धारित र थप गरिएको समय पनि एक एक गोलको बराबरीमा सकिएपछि भएको टाई ब्रेकरमा क्रोएसिया विजयी भएको थियो ।
अर्जेन्टिनाले पनि नेदरल्यान्ड्सलाई टाई ब्रेकरमै हराएर प्रतियोगिताको सेमिफाइनल पुगेको हो ।
अर्जेन्टिना सन् १९७८ र १९८६ को विश्व विजेता टिम हो भने क्रोएसियाले अहिलेसम्म विश्वकपको उपाधि जितेको छैन । अघिल्लो संस्करणमा फाइनलमा फ्रान्ससँग पराजित भएसँगै क्रोएसिया उपविजेता मै चित्त बुझाउन बाध्य भएको थियो ।
पछिल्ला ४१ खेलमा अर्जेन्टिनाले २८ खेल जितेको छ भने १ खेल मात्र हारेको छ । बाँकी खेल बराबरीमा सकिएका छन् । यस्तै विश्वकपमा क्रोएसियाले पछिल्ला १२ मध्ये ११ खेल जितेको छ ।
मेस्सीलाई वर्तमान फुटबलकै एक महान् खेलाडीका रूपमा रहे पनि विश्वकप जित्न नसकेका कारण उनको तुलना पेले र म्याराडोनासँग गर्न निमल्ने कतिपयको तर्क छ । तसर्थ पनि मेस्सीका लागि यो विश्वकप यो खुट्किलो पनि पार गरेर विश्वकै महान् फुटबलरको रूपमा आफूलाई उभ्याउने अवसरका रूपमा रहेको छ । यसैकारण विश्वभर रहेका उनका करोडौँ समर्थक पनि यसपटक मेस्सीले विश्वकप जितुन् भन्ने कामना गरिरहेका छन् ।
यस्तै, अघिल्लो संस्करणको विश्वकपमा उत्कृष्ट खेलाडी घोषित भएर पनि टिमलाई उपाधि जिताउन नसकेका मोड्रिच यसपटक उपाधि जित्न आतुर छन् । क्रोएसियाले जारी प्रतियोगितामा राम्रो खेलिरहेको छ । खागसरि, ब्राजिलसँगको खेलमा क्रोएसियाको खेल उच्च स्तरीय रहेको फुटबल विश्लेषकहरूले भनिरहेका छन् ।
अघिल्लो विश्वकपमा ३-० ले विजयी भएकोले क्रोएसिया उच्च मनोविज्ञानका साथ मैदान उत्रने आकलन गर्न सकिन्छ । यो मनोविज्ञानमा ३६ बर्षदेखि विश्वकपको उपाधि उचाल्न नपाएको अर्जेन्टिनी खेलाडीको भोक र मेस्सीको सफलतामा थप उचाइ थप्न होस्टे हैँसे गराैँ भन्ने भावनाले तगारो लगाउन सक्छ ।
दुवै टिमका गोल किपरको प्रदर्शन पनि उच्चस्तरीय रहेको छ । क्वाटर फाइनलमा जिताउन दुवै टिमका गोलकिपरको प्रदर्शन अब्बल थियो । तर, फुटबल जित्नका लागि मैदानमा राम्रो खेल्नुपर्ने र गोल नै गर्नुपर्ने यथार्थलाई दुवै टिमले राम्रोसँग बुझेका छन् ।
यो खेलको नतिजाका लागि त मङ्गलवार मध्यरातसम्म कुर्नुपर्ने छ । नतिजासँगै मेस्सी र मोड्रिचमध्ये एकको विश्वकप उपाधि यात्रा भने आजै राती सकिने छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९, १४:००