काठमाडौ । साविक उपविजेता क्रोएसियालाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहाको लुसेल रंगशालामा भएको पहिलो सेमिफाइनलमा क्रोएसियामाथि अर्जेन्टिनाले सहज जित निकाल्यो ।
जितसँगै अर्जेन्टिना उपाधि नजिक पुगेको हो छ । अर्जेन्टिनालाई जित दिलाउन जुलियन अल्भारेजले दुई तथा कप्तान लियोनल मेस्सीले एक गोल गर्नुभयो । खेलको ३४ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाउनु भएको थियो ।
क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा मेस्सीले सहजै गोल गर्नुभयो । जारी विश्वकपमा मेस्सीको यो पाचौँ गोल हो ।
खेलको ३९ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाउनुभयो । काउन्टर बलमा क्रोएसियाका डिफेन्डरले बल क्लियर गर्न नसक्दा अल्भारेजले एकल प्रयासमा गोल गर्नुभयो ।
त्यसपछि खेलको ६९ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गरेपछि अर्जेन्टिनाले क्रोएसियामाथि ३–० को सहज जित निकाल्यो । दुई पटकको च्याम्पियन अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनलमा पुगेको हो ।
अब अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ । यस हारसँगै क्रोएसियाको विश्वकप यात्रा भने टुंगिएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९, ०६:५६