धुन्चे। रसुवा सदरमुकाम धुन्चे नजिकैको फार्ममा लटरम्म किवी फलेका छन् । किवी चोरी होला भनेर अशोककुमार तामाङ र उहाँका बुवा पालको अस्थायी टहरामा पालैपालो रात कटाउनुहुन्छ । ‘पोहोर त एउटा पनि बेच्न पाइएन नि, तार बार छैन बच्चाहरूले सबै सकाए’ अशोककुमार भन्नुहुन्छ, ‘अनि अहिले चाहिँ बाउ छोरा पालैपालो सुत्न आउँछौँ ।’
धुन्चेमै पहिलो पटक ६८ वटा बोट रोपेर किवी खेती सुरू गरेका अशोक किवी फल्न थालेसँगै खुसी हुनुहुन्छ । किवी खेती आम्दानीको राम्रो श्रोत भएकाले रसुवाका पालिकाहरूले किवीका बिरुवा किसानलाई वितरण गरिरहेका छन् । यसका साथै किसानलाई तालिम र व्यावसायिक रूपमा खेती गर्न चाहनेलाई सहुलियतपूर्ण लगानी उपलब्ध भए थप सजिलो हुने किसान बताउँछन् । तर, अशोक जस्तै किसान पालिकाबाट किवीको खेती, प्रविधि, लगानी आदिबारे थप बुझ्न चाहन्छन् ।
३७ वर्ष अघि दोलखाबाट सुरुवात भएको किवी खेती नेपालका ३५ जिल्लामा विस्तार भइसकेको छ । दोलखा, सिन्धुपाल्चोक, इलाम, पाँचथर लगायत जिल्लामा किवी उत्पादन बढी हुने गरेको छ । पहाडी तथा मध्य पहाडी क्षेत्रका सबैजसो जिल्लामा किवी खेती हुने भए पनि विभिन्न कारणले अझै पनि सबै ठाउँमा यसको खेती गर्न सकिएको छैन ।
राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार किवी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । ६ वर्ष अघि, २ सय ९८ हेक्टरमा गरिएको खेतीबाट ३ सय ७८ मेट्रिक टन किवी उत्पादन भएकोमा अहिले २ हजार ५ सय हेक्टरमा गरिएको खेतीबाट ८ हजार ३ सय मेट्रिक टन उत्पादन पुगेको छ । किवी खेती विस्तारका लागि सरकारले बगैँचा विस्तारलाई प्राथमिकता दिइरहेको छ । केन्द्रका बागवानी विकास अधिकृत मधुसूदन घिमिरेले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायत सरकारले सञ्चालन गरिरहेको कृषिका कार्यक्रम मार्फत किवी खेतीको बगैँचा विस्तार गर्ने योजना बनाइरहेको बताउनुभयो । ‘किवी खेतीको बगैँचा विस्तार नै सरकारको पहिलो प्राथमिकता हो, घिमिरेले भन्नुभयो ‘बगैँचा विस्तारपछि निर्यात पनि गर्ने योजना छ’ ।
हाल नेपालबाट किवी फल उल्लेख्य मात्रामा निर्यात हुन सकेको छैन । किवी विज्ञ शम्भु ढकालका अनुसार भारत र बङ्गलादेशसहित अरबका देशहरूमा किवी फलको माग उच्च छ । नेपालका धेरै क्षेत्रमा यसको खेती सम्भव भएकाले गुणस्तरीय किवी उत्पादनमा सरकारको ध्यान जानुपर्ने ढकालको भनाइ छ । ‘मधेस प्रदेश बाहेक लगभग सबै प्रदेशमा किवी खेती हुन्छ, त्यसैले यसको निर्यात तर्फ अब सरकारले ध्यान दिनुपर्छ’ ढकालले भन्नुभयो ।
किवी खेती नयाँ पनि भएकाले यससँग सम्बन्धित ज्ञान सम्पूर्ण कृषि प्राविधिकहरूलाई दिनुपर्ने, किसानलाई अनुदान लगायतका कार्यक्रम लागु गर्नुपर्ने, गुणस्तरीय फल उत्पादन गर्न किसानलाई खेती प्रविधि सम्बन्धी तालिम पर्याप्त मात्रामा दिनुपर्ने किवी विज्ञ ढकालको भनाइ छ । किवी चीनबाट उत्पत्ति भएर न्यूजिल्यान्डबाट उन्नत जातको विकास भएको फल हो । २७ वटा फलफूलमध्ये किवीमा सबैभन्दा धेरै पोषण तत्त्व पाइने अध्ययनले पुष्टि गरिसकेको छ । किवीको उपभोग स्वास्थ्यका लागि त फाइदाजनक छ नै, यसको उत्पादन बढाउन सके रोजगारी र आम्दानी वृद्धि गर्न पनि महत्त्वपूर्ण योगदान पुग्ने देखिन्छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९, १२:३८