काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु भएका सबै १७ जनाकै परिचय खुलेको छ । मृतकमा बनेपा नगरपालिका वडा नम्बर ११ का मात्रै ८ जनाले ज्यान गुमाएका छन् । बेथानचोक गाउँपालिका–५ च्याल्टीमा व्रतबन्धमा सहभागी भएर बनेपा नगरपालिका वडा नम्बर ११ सल्लेतर्फ फर्कने क्रममा बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ललितपुरको महांकाल गाउँपालिका–६ का बस चालक तेजप्रसाद तिमल्सिना (सन्तोष),बनेपा नगरपालिका–११ का २७ वर्षीय कोपिला तामाङ, ५५ वर्षीय कुमार तामाङ, ११ वर्षीय पुष्कर तामाङ, ७९ वर्षीय निर्मला तामाङ, २८ वर्षीय मञ्जु तामाङ, ४३ वर्षीय हेमा तामाङ, ५० वर्षीय आकुर तामाङ र ३० वर्षीय वुद्ध तामाङ हुनुहुन्छ ।
यस्तै तेमाल–८ की २९ वर्षीय टिकालक्ष्मी तामाङ र ९ वर्षीय गुरु लक्ष्मण दास घिसिङ, बेथानचोक गाउँपालिका–४ का १९ वर्षीय रविन तामाङ, मकवानपुरको इन्द्रसरोवर गा.पा–१ की ६ वर्षीय समिक्षा थिङ, मण्डनदेउपुर नगरपालिका–१ की ४१ वर्षीय चेलीमाया तामाङ, बनेपा–१४ का ४२ वर्षीय रामकुमार तामाङ र २८ वर्षीय गीता श्रेष्ठ तथा बेथानचोक– ५ की २४ वर्षीय मञ्जु तामाङको पनि दुर्घटनामा मृत्यु भएको छ ।
शवको पहिचान भए लगत्तै धुलिखेल अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा पठाइएको र १७ जनाको धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९, १७:०२