गैँडाकोट । नारायणगढ–बुटवल सडक खण्ड निर्माणका क्रममा नवलपुरको ५७ किलोमिटर पाइपलाइन प्रभावित भएको छ । सडक खण्ड विस्तारको क्रममा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैँडाकोटदेखि दुम्किबाससम्म ५७ किलोमिटर पाइपलाइन प्रभावित भएको जिल्ला खानेपानी उपभोक्ता महासङ्घका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिनुभयो ।
सडक निर्माणले गति लिनु खुसीको कुरा भए पनि खानेपानीको पाइपमा पुगेको क्षतिले दुखि बनाएको उहाँले बताउनुभयो । सडकसँगका कल्भर्ट, पुल निर्माणका क्रममा क्षति पुगेको उहाँले जानकारी दिनुभयो । सडक निर्माणले नवलपुर क्षेत्रका १९ वटा खानेपानी उपभोक्ता संस्था प्रभावित बनेको र मुख्य सडकसँग जोडिएका करिब ५ हजार र मुख्य राजमार्ग बाहेकका २५ हजार घर घरको पाइपमा प्रभाव पारेको भुसालले बताउनुभयो ।
पुरानो पाइप हटाइ नयाँ पाइपमा जोड्नुपर्दा खर्च पनि धेरै आउने भएकाले सडक निर्माण आयोजनाले खर्च बेहोर्नुपर्ने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । पाइपलाइन विस्तार र यसमा आउने विभिन्न समस्या समाधानका लागि करिब १० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
सडक आयोजनाको अहिलेसम्म २० प्रतिशत काम सम्पन्न भएको छ । त्यस्तै आयोजनाको पूर्वी खण्डमा अहिलेसम्म ३० प्रतिशत विद्युत्का पोल सार्ने काम सकिएको छ । १२ वटा ठुला पुलमध्ये १२ स्थानमा नै पुल निर्माणको काम भइरहेको छ । २२ साना पुलमध्ये १३ स्थानमा काम सकिएको छ भने अन्यमा काम भइरहेको छ ।
गैँडाकोटबाट दाउन्नेसम्मको ६४ दशमलव ५ किलोमिटर खण्ड र दाउन्नेबाट बुटवल चौराहासम्मको ४८ दशमलव ५ किलोमिटर खण्डलाई २ खण्ड गरी एकैसाथ बिस्तारको काम भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९, १८:४१