काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज (बिहीबार) राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । अन्तिम मत परिणाम सार्वजनिक भएको एक साताभित्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुपर्ने प्रावधान अनुसार आयोगले आज राष्ट्रपति भण्डारीलाई बुझाउन लागेको हो ।
निर्वाचित सांसदको सूची नेपाल राजपत्रमा प्रकाशन भएपछि सरकार गठनको प्रक्रिया सुरु हुनेछ।
आयोगका अनुसार प्रतिनिधिसभामा २७५ र प्रदेशसभामा ५५० जना गरी जम्मा ८२५ जना सांसद निर्वाचित भएका छन्। प्रतिनिधिसभातर्फ पुरुष १८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएका छन् । यस्तै, प्रदेशसभातर्फ पुरुष ३५० जना (६३ दशमलव ६४ प्रतिशत) र महिला २०० जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएका छन्।
प्रतिनिधिसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिएका थिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेबमोजिम प्रतिनिधिसभातर्फ १ हजार ९६१ जना तथा प्रदेश सभातर्फ २ हजार ३२४ जना गरी जम्मा ४ हजार २८५ जना (७६ दशमलव शून्य ४ प्रतिशत) उम्मेदवारको धरौटी रकम जफत भएको निर्वाचन आयोगले जनाएको छ ।
त्यसै गरी, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रतिनिधि सभातर्फ बन्द सूची पेस गर्ने ४७ दलमध्ये ४० वटा दल र प्रदेश सभातर्फ प्रदेश नं। १ मा ३०, मधेस प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको छ।
प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था बमोजिम ७ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्।
प्रदेशसभामा समानुपातिकतर्फको कुल सदर मतको कम्तीमा १ दशमलव ५ प्रतिशत मत प्राप्त गर्ने र प्रत्यक्षतर्फ १ सिट जित्ने दलले मान्यता पाउने छ । जस अनुसार प्रदेश नं. १ मा ६, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९, ११:५९