धनगढी । सामुदायिक सूचना नेटवर्क (सीआईएन) मार्फत बिभिन्न सामुदायिक रेडियोबाट नेपाली र थारु भाषामा प्रसारण भैरहेको कार्यक्रम साझा पहल श्रोता माझ लोकप्रिय रहेको पाइएको छ । कैलालीको टिकापुर, जानकी, जोशीपुर लगायत क्षेत्रको स्थलगत अनुगमन र कार्यक्रममा उपस्थित श्रोताले विपद्को समयमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणको बारेमा आफूहरूले रेडियो कार्यक्रम साझा पहलबाट धेरै जानकारी पाएको बताउनुभयो । कार्यक्रमले नीति निर्माता तथा स्थानीय पालिकालाई पनि सहयोग पुगेको पाइएको छ ।
फिनल्यान्ड सरकारको आर्थिक सहयोगमा युएन ओमन, ल्याक नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घ(अकोराब नेपाल)को सहकार्यमा सञ्चालन भैरहेको परियोजना अन्तरगत कैलालीको टिकापुरमा बिशेष कार्यक्रम गरिएको थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पनि सन्दर्भ पारेर टिकापुरको सिद्धार्थ होटेलमा भएको छलफल कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका ५० भन्दा धेरै व्यक्तिले कार्यक्रम एकदमै प्रभावकारी र महत्त्वपूर्ण रहेको बताएका हुन् ।
कार्यक्रममा परियोजनाका सिकाई र कार्यक्रमबाट स्थानीय पालिका र सरोकारवालालाई आएको सुझावको बारेमा पनि छलफल भएको थियो । छलफलमा स्थानीय पालिकाका जनप्रतिनिधि र कर्मचारीको उल्लेख्य सहभागिता थियो । जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी, टिकापुर नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाह, टिकापुर नगरपालिकाका प्रशासकीय अधिकृत मङ्गलबहादुर शाही, टिकापुर नगरपालिकाको वडा नम्बर ८ का अध्यक्ष तीर्थराज उपाध्याय, वडा नम्बर १ का अध्यक्ष मोहन लुहार, वडा नं. ५ का अध्यक्ष बलवीर चौधरी, जानकी गाउँपालिकाका वडा अध्यक्षहरू सुरेश चौधरी र कमल महतो, मुक्त कमलरी जिल्ला संयोजक, सीमान्तकृत समुदायका प्रतिनिधि अपाङ्गता भएका व्यक्ति, अधिकारकर्मी र पत्रकारको सहभागिता रहेको थियो । साथै, कार्यक्रममा यूएन ओमनको नेपाल कार्यालय प्रमुख नवनिता सिंह, युएन ओमनको कार्यक्रम बिश्लेषकहरू रचना अधिकारी र आश्मा श्रेष्ठलगायतको सहभागिता थियो ।
ल्याक नेपालका कार्यक्रम संयोजक रक्षा रिसालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो भने सामुदायिक सूचना नेटवर्क सीआईएनका व्यवस्थापक दीपक आचार्यले कार्यक्रमलाई रेडियो कार्यक्रमकै शैलीमा सञ्चालन गर्नु भएको थियो । उहाँले कार्यक्रमले उठाएका समुदायका सवाललाई प्रस्तुत गर्दै त्यसलाई सम्बोधन गर्न र कार्यान्वयन गर्नको लागि स्थानीय सरकार र सरोकारवालालाई आग्रह गर्नु भएको थियो ।
ल्याकको जिल्लाको फोकल पर्सन मिरा चौधरीले रेडियो कार्यक्रम साझा पहलले समुदाय सम्म पुगेर सामाजिक परिचालक एवम् आम समुदायका आवाज संकलन गरी कार्यक्रम प्रसारण गरेकोले धेरै प्रभाव पारेको बताउनुभयो ।
विरेन्द्रनगर शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक लक्ष्मीनारायण पोखरेलले साझा पहल कार्यक्रमले कोभिडको बारेमा जनचेतना जगाएपछि बिरामीलाई बुझाउन र सम्झाउन सजिलो भएको अनुभव सुनाउनुभयो । आफूले थारु समुदायका नागरिकलाई नियमित हात धुने, सरसफाइ गर्ने, शङ्का लागेमा परीक्षणका लागि स्वास्थ्य चौकी जानु पर्दछ भनेर आफूले बिरामीलाई भन्दा बिरामीले यो जानकारी आफूहरूले मातृ भाषामै रेडियो कार्यक्रम साझा पहलबाट पाएको बताएको उहाँले सुनाउनुभयो ।
साझा पहल कार्यक्रमले महिला तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक समुदायको सवाललाई मसिनो ढङ्गले उठाएकोमा मानव अधिकार सचेतना केन्द्र कैलालीका अध्यक्ष कमला केसीले प्रशंसा गर्नुभयो ।
कार्यक्रममा रेडियो टिकापुर मार्फत थारु भाषाको कार्यक्रम उत्पादनको संयोजन गरिरहेका दिलबहादुर चौधरीले कार्यक्रममा उठेका समस्या र सवाल प्रस्तुत गर्दै पालिका र वडा कार्यालयले त्यसको समाधानका लागि काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा साझा पहल कार्यक्रममा उठेका सवालहरूलाई समाधान गर्नको लागि स्थानीय पालिकाहरूलाई बुँदागत रूपमा आह्वान गरिएको थियो । कार्यक्रममा उपस्थित पालिका प्रमुख, वडा प्रमुख र सरोकारवालाहरूले कार्यक्रममा उठेका सवालको समाधानका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जोसीपूर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले सामुदायिक रेडियो मार्फत प्रसारण भएको साझा पहलले उठाएका सवालहरूलाई आफ्नो पालिकाले निरन्तरता दिने बताउनुभयो । उहाँले महिला, अल्पसङ्ख्यक तथा सीमान्तकृत वर्गका लागि आएका प्रस्तावलाई आफूले स्वीकार गर्ने बताउनु भयो ।
टिकापुर नगरपालिकाका उपमेयर खड्कबहादुर शाहले साझा पहल कार्यक्रमले श्रोता र आफू जस्ता नीति निर्मातालाई जोड्ने पुलको काम गरेको र कार्यक्रमले उठाएका धेरै समस्याको आफुहरुले समाधान गरेको बताउनुभयो । टिकापुर नगरपालिकाका प्रशासकीय अधिकृत मङ्गलबहादुर शाही विपद्को समयमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणको लागि गर्नुपर्ने कामको लागि पालिकाले छुट्टै नीति निर्माण गर्ने बताउनु भयो । टिकापुर नगरपालिकाका वडा नं ८ का अध्यक्ष तीर्थराज उपाध्यायले रेडियोले उठाएका सवालले आफूहरूलाई वडामा योजना बनाउन सहयोग भएको बताउनु भयो ।
टिकापुर नगरपालिकाका वडा नं १ का अध्यक्ष मोहन लुहारले विपद्को समयमा महिला तथा सीमान्तकृत वर्गका लागि विशेष कार्यक्रम वडामा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । टिकापुर नगरपालिकाका वडा नं ५ का अध्यक्ष बलवीर चौधरी र जानकी गाउँपालिका वडा ३ का अध्यक्ष सुरेश चौधरीले पनि कार्यक्रममा उठेका सवालहरूलाई आफूहरूले आत्मसात् गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा मुक्त कमलरी, अपाङ्गता भएका व्यक्ति र महिलाहरूले आफ्ना सवालहरूलाई स्थानीय पालिका र रेडियोले अझै प्राथमिकता दिएर सहयोग गर्न आग्रह गरेका थिए ।
युएन ओमनको नेपाल कार्यालय प्रमुख नवनिता सिंहले छलफल र कार्यक्रमको प्रभाव देखेर आफू निक्कै खुसी भएको बताउनु भयो । उहाँले कार्यक्रमले महिला तथा पछाडि पारिएको वर्गमा ल्याएको परिवर्तन र जनजीविकामा आएको सुधारलाई कायमै राख्नको लागि यसमा स्थानीय सरकारले धेरै काम गर्नुपर्ने बताउनुभयो ।
सामाजिक परिचालक सीता चौधरी त साझा पहल कार्यक्रमको लागि समुदायका जानकारी दिँदा दिँदै रेडियोकर्मी बन्नु भएको छ । रेडियो टिकापुरबाट प्रसारण हुने थारु भाषाको साझा पहल कार्यक्रमको जानकारी लिने क्रममा सामाजिक परिचालक सीता चौधरीले रेडियोमा आफूलाई पनि कार्यक्रम चलाउने रहर भएको बताएपछि कार्यक्रम सञ्चालक दिलबहादुर चौधरीले उहाँलाई कार्यक्रम सञ्चालनको सिप सिकाउनुभयो । अहिले दिलबहादुर र सीता संयुक्त रूपमा रेडियो कार्यक्रम सञ्चालन गर्नुहुन्छ ।
अनुगमन भ्रमणका क्रममा जानकी गाउँपालिकामा भेटिएका अनिता चौधरीले कोरोनाको बेलामा कार्यक्रम साझा पहलले आफूहरूमा रहेका धेरै भ्रम हटाएर सहयोग गरेको बताउनुभयो । आफू मधुमेह र उच्च रक्तचापको दीर्घ रोगी भएकाले कोभिडको खोप लगाउनुहुँदैन भन्ने हल्ला सुनेको तर एक दिन कार्यक्रममा डाक्टरको परामर्शमा खोप लगाउन सकिन्छ भन्ने सुनेपछि खोप लगाएको बताउनुभयो ।
जोशीपुर गाउँपालिका ३ को थारु बस्तीमा भेटिएका वसुराम चौधरीले बुधवार बिहान प्रसारण हुने नेपाली र बेलुका टिकापुर एफएमबाट प्रसारण भएको थारु भाषाको साझा पहल दुवै कार्यक्रम नछुटाई सुन्ने गरेको बताउनुभयो । कार्यक्रम सकिँदै छ भन्ने सुनेर दुःख लागेको र यसलाई निरन्तरता दिन उहाँले आग्रह गर्नुभयो ।
अनुगमन भ्रमणका क्रममा भेटिएका सञ्चारकर्मी गीता चौधरीले फेसबुकबाट साङ्केतिक भाषामा पनि साझा पहल प्रसारण भएकाले अपाङ्गता भएका व्यक्तिले यो कार्यक्रमको प्रशंसा गरेको बताउनुभयो । आफूसँग फेसबुकबाट साझा पहल कार्यक्रम पत्ता लगाईदिन अनुरोध गरेको उहाँले स्मरण गर्नुभयो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९, १७:४०