काठमाडौँ । नेपालमा वनस्पति शास्त्रको उच्च शिक्षा सुरु भएको ५८ वर्ष भयो । त्रिभुवन विश्वविद्यालयले २०२१ साल मङ्सिर १३ गतेबाट स्नातकोत्तर तहमा वनस्पति शास्त्रको अध्यापन सुरु गरेको थियो । यो विश्वविद्यालयको वनस्पति शास्त्र केन्द्रीय विभागमा हरेक वर्ष ३५ जना विद्यार्थी भर्ना हुन्छन् ।
बोटबिरुवाप्रति लगाव भएकै कारण वनस्पति शास्त्र अध्ययनमा लागेका बुटवलका शारदा ढकालको अनुसन्धानकर्ता बन्ने लक्ष्य छ । ‘वन जङ्गलमा हिँड्न, डुल्न मलाइ एकदमै मन पर्ने त्यही भएर पनि मैले वनस्पति शास्त्र अध्ययन सुरु गरेकी हुँ’ ढकालले भन्नुभयो । नेपालमा सन् १९५० देखि वनस्पति विज्ञानको स्नातक तह र सन् १९७५ देखि विद्यावारिधि अध्ययन सुरु भएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट अहिलेसम्म २७ सयभन्दा बढी विद्यार्थीले स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् । वनस्पतिको वर्गीकरण, पहिचान, महत्त्व सहित विभिन्न अध्ययन अनुसन्धानमा उत्साहका साथ संलग्न हुने विद्यार्थीले अनेकौँ समस्या भोग्नुपर्छ । चितवनका सन्तोष क्षेत्री वन, कृषि क्षेत्रमा जस्तो वनस्पति क्षेत्रलाई सरकारले प्राथमिकता नदिएको बताउनुहुन्छ । ‘वन क्षेत्रलाई जत्ति प्राथमिकता दिएर लोक सेवा आयोगले विज्ञापन निकाल्छ तर वनस्पति शास्त्रमा कोटा नै छैन भन्दा पनि हुन्छ’ क्षेत्रीले भन्नुभयो ।
वनस्पति शास्त्र अध्ययन गरेका व्यक्तिलाई मिल्ने गरी लोक सेवा आयोगले निकै कम मात्र विज्ञापन निकाल्ने गरेको विद्यार्थी बताउँछन् । जसले गर्दा आकर्षण कम भएको उहाँहरूको अनुभव छ ।
वनस्पति शास्त्र अध्ययनरत विद्यार्थीको अर्को विषयमा पनि चित्त दुखाइ छ । वनस्पतिको विभिन्न समस्या समाधान गर्न आफूहरूले अध्ययन अनुसन्धान गरी तयार गरिएको प्रतिवेदन उत्तिकै थन्किने गरेकोमा उनीहरू सन्तुष्ट छैनन् । ‘हामीले गरेको अध्ययन, अनुसन्धानलाई आधार मानेर सरकारले कार्यक्रम सञ्चालन गर्दैन कम्तीमा हाम्रो मेहनत कतै त प्रयोग होस् न’ दाङका सुदन भण्डारी भन्नुहुन्छ ।
वनस्पति शास्त्र केन्द्रीय विभागमा अध्ययन गर्न बर्सेनि २ सय ५० जना जति विद्यार्थीले प्रवेश परीक्षा दिन्छन् । तर, ३५ जनाको मात्र कोटा हुने भएकाले सबैले भर्ना हुन पाउँदैनन् । विभागका प्राध्यापक भरतबाबु श्रेष्ठ वनस्पति शास्त्रको अध्ययनको क्षेत्र फराकिलो हुँदै गएको बताउनुहुन्छ । ‘कतिपय विद्यार्थी फ्रिल्यान्सर भएर काम गरिरहेका छन्, जागिर खाने मुख्य स्थान भनेको वनस्पति विभाग नै हो ।’ श्रेष्ठले भन्नुभयो । धेरै विद्यार्थी उच्च अध्ययनका लागि तेस्रो मुलुकमा जाने गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभागमा बर्सेनि ३५ जना र अमृत साइन्स कलेज र विराटनगरको स्नातकोत्तर क्याम्पसमा ३०–३० जना गरी ९५ जना विद्यार्थीले वनस्पति शास्त्रको स्नातकोत्तर तह अध्ययन गर्न पाउँछन् । वनस्पति शास्त्रको अध्ययन र त्यसपछि तयार हुने मानव संसाधनलाई कसरी व्यवस्थित बनाउन सकिएला ? वनस्पति शास्त्रका प्राध्यापक डा. रामप्रसाद चौधरी भन्नुहुन्छ, ‘जलवायु परिवर्तनसँग कसरी अनुकूलन गर्ने, मानिसको जीविकोपार्जनसँग प्रत्यक्ष जोड्नुपर्ने, जडीबुटीलाई पनि प्राथमिकता दिनुपर्छ ।’ वनस्पति शास्त्रलाई छुट्टै शास्त्र जस्तै व्यवहार गरिन्छ, त्यसो गर्नु भएन यसलाई बहु आयामिक बनाउनुपर्छ चौधरीले भन्नुभयो । भौगोलिक र जलवायुको विविधतासँगै नेपालमा वनस्पतिको विविधता पनि प्रचुर मात्रामा छ । तर, विश्वविद्यालय र सरकारको प्राथमिकतामा नपर्दा पर्याप्त अनुसन्धान हुनै सकेको छैन ।
प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९, १७:१६