काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा मङ्गलवार भएको बस दुर्घटनामा एकै परिवारका ८ जनाको ज्यान गएपछि गाउँ नै शोकाकुल भएको छ । मङ्गलवार भएको दुर्घटनामा मृत्यु भएका १७ जनामध्ये बनेपा नगरपालिका वडा नम्बर ११ का एउटै परिवारका आठ जना परेका हुन् ।
दुर्घटनामा ७९ वर्षीय निर्मला तामाङ, ४३ वर्षीय हेमा तामाङ, ५५ वर्षीय कुमार तामाङ, ५० वर्षीय आकुर तामाङ, ३० वर्षीय बुद्ध तामाङ, २८ वर्षीय कोपिला तामाङ र वर्षीय मञ्जु तामाङ, ११ वर्षीय पुष्कर तामाङको मृत्यु भएको हो । मृतक कुमारका छोरा राजन तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
रोजगारीको लागि मलेसिया गएका कुमारका साइँलो छोरा जयराम र जापान गएका कान्छो छोरा अमर फर्किएपछि आज शव बुझाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले जानकारी दिनुभयो । तामाङ परम्परा अनुसार स्वयम्भूमा मृतक ८ जनाकै सामूहिक अन्त्येष्टि गरिएको छ । मृतक बुद्ध र कोपिला तामाङकी एक्ली ६ वर्षीय छोरी श्रेया उपचारपछि डिस्चार्ज हुनुभएको छ । दुर्घटनामा सामान्य घाइते हुनेमा श्रेया मात्रै हुनुहुन्छ ।
यसैबिच काभ्रे पुण्यवती यातायात प्रालिले मृतकलाई नगद ५० हजारका दरले राहत उपलब्ध गराएको छ । यस्तै मृतकलाई क्षतिपूर्ति स्वरूप ५ लाख रुपैयाँ दिने र घाइतेको उपचार खर्च बेहोर्ने जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएकामध्ये बाँकी बुधवार ९ जनाको शव बुधवार नै आफन्तले बुझेका थिए ।
बेथानचोक गाउँपालिका–५ च्याल्टीमा व्रतबन्धमा सहभागी भएर बनेपा११ सल्ले फर्कँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना भएको थियो । दुर्घटनाबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनुवारको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९, १८:२१