यस पटकको चुनावमा मधेस केन्द्रित राजनीति गर्ने दलहरूले सोचे अनुसारको परिणाम ल्याउन सकेनन् । अझ पहिचानको मुद्दालाई आफ्नो प्रमूख मुद्दा बनाएको जनता समाजवादी पार्टी (जसपा) निकै कमजोर देखियो । जसपाको चुनावी समीक्षा र आगामी रणनीतिको विषयमा साथी राजन रुचालले नेता राजकिशोर यादवसँग गर्नुभएको कुराकानीको सम्पादित अंश
चुनावी समीक्षा गरिसक्नु भयो ?
अहिले समीक्षा भईसकेको छैन । विजयी भएका साथीहरू मतदातालाई धन्यवाद दिन टोल टोलमा घुमिरहनु भएको छ । त्यस कारण पनि समीक्षा गर्न भ्याइएको छैन । अर्को त, जिल्ला जिल्लाबाट चुनावमा हार बेहोर्नुको कारणबारे हामीले रिपोर्ट मगाएका छौँ । त्यो पनि सबै आई नपुगेको हुनाले ढिला भएको हो । यी सबै कुरा भइसकेपछि हामी समीक्षा गर्छौँ ।
व्यक्तिगत रूपमा चाहिँ तपाईँको दल चुनावमा धेरै ठाउँमा पराजित हुनको कारण के देख्नुहुन्छ ?
यस पटकको चुनाबले वास्तवमा नेपालको राजनीति कता जाँदै छ भन्ने कुरा नेताहरूले गम्भीर भएर सोच्नपर्छ भन्ने सन्देश दिएको छ । अर्को विषय नयाँ मतदाताको रुचि र आकाङ्क्षाको आङ्कलन गरिएको थिएन । तेस्रो चाहिँ हामीले गर्नु पर्ने जति तयारी नगर्दा पनि यस्तो खालको परिणाम भोग्नुपरेको हो । हामी यी विषयमा गम्भीर ढङ्गले समीक्षा गर्छौँ ।
तपाईँहरूले भोट दिनुभयो, एमाले मधेसमा पहिलो दल बन्यो तर जसपाले एमालेबाट भोट पाएन भनेर तपाईँका नेताहरूले भनिरहेका छन्, सहमत हुनुहुन्छ ?
त्यो पाटोमा पनि समीक्षा गर्न बाँकी छ । हामीले प्रत्येक चुनावी क्षेत्रको विश्लेषण गरेकै छैनौँ । त्यसैले अहिले नै यो विषयमा टिप्पणी गर्नु राम्रो हुँदैन । किनकि यसले दीर्घकालीन असर पार्छ ।
तपाई यसो भनिरहनुभएको छ, तर तपाईँकै पार्टीका कार्यकारी अध्यक्ष चाहिँ सार्वजनिक कार्यक्रममा एमालेबाट धोका भयो भन्दै हिंडिहरनु भएको छ, के बुझ्ने ?
हैन मलाई लाग्छ, औपचारिक रूपमा समीक्षा बैठक भएको छैन । जसपाको आधिकारिक कुरा त बैठक पछि नै आउँछ ।
त्यसो भए कार्यकारी अध्यक्ष यादवको कुरालाई आधिकारिक नमान्ने ?
अध्यक्ष भनेपछि त उहाँ आधिकारिक नै हो । तर मलाई त केही भन्नुभएको छैन । उहाँले कहाँ के बोल्नुभयो, पार्टीभित्र छलफल नगरी भन्न सकिन्न ।
पार्टीका कार्यकारी अध्यक्षले एमालेसँगको सहकार्य चुनावसम्म मात्रै भनेर भन्नुका त अनेकौँ अर्थ छन् नि होइन र ?
हामीले एमालेसँग गठबन्धन भन्दा पनि चुनाएका लागि तालमेल गरिएको थियो । अर्को कुरा अब आगामी दिनमा कसरी जाने त्यो विषयमा बैठक पनि भइसकेको छैन । उहाँले कसरी यस्तो बोल्नुभयो बैठक पछि थप स्पष्ट हुने छ ।
फेरि तपाईँहरूकै पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोक राईले त्यो कुरालाई खण्डन पनि गर्नुभयो नि ?
मलाई लाग्छ, यो प्रश्न उहाँहरूलाई नै सोध्दा बढी उचित हुन्छ । अध्यक्ष तहमै यस्ता विषयमा दुई खालको कुरा हुनु र यसमा मैले टीकाटिप्पणी गर्नु राम्रो हुँदैन ।
अरू पार्टीमा अहिले नेतृत्वमा नयाँ पुस्ता भन्ने बहस छ, जसपा भित्र पनि यो बहस चल्छ ?
काँग्रेसको कुरा अर्कै छ । त्यो पार्टी नै आफैँमा बुढ्यौली उमेरका नेताहरूको पार्टी हो । र महाधिवेशनमा जसरी नयाँ पुस्ता आयो, त्यसले नेपाली राजनीतिको अध्याय नै फेरियो । मलाई लाग्छ, त्यसको प्रभाव नै चुनावसम्म पनि आई पुगेको हो । अब हाम्रो पार्टी निर्माणको कुरा गर्दा बल्ल युवा अवस्थामा प्रवेश गरेको छ । हाम्रो पार्टीको नेतृत्व तह आफैँमा पुरानो भइसकेको छैन । त्यसैले पनि नेतृत्व परिवर्तनको विषय उठ्ने कुरै भएन । तर जुन हिसाबले युवा पुस्ताको हस्तक्षेप राजनीतिमा बढेको छ, त्यसलाई चाहिँ गम्भीर रूपले लिनु पर्छ ।
दुई अध्यक्षको परस्पर बाझिएको अभिव्यक्ति हेर्दा जसपा पनि फुटको बाटोमा जाला कि भन्ने आशङ्का गर्न थालिएको छ । यसलाई कसरी खण्डन गर्नुहुन्छ ?
तपाईँले कहाँ सुन्नुभयो, कसरी सुन्नुभयो त्यो एउटा विषय हो । हाम्रो पार्टी ‘मिसन ओरिएन्टेड’ पार्टी हो । जसरी हामी आन्दोलनमा होमियौं त्यो लक्ष्य अहिलेसम्म प्राप्त भइसकेको छैन । त्यस कारण नेतृत्वले अहिले नै खुट्टा कमाउने स्थिति आउँछ जस्तो लाग्दैन । एउटा अभिव्यक्तिमा फरक आउने बित्तिकै पार्टी विभाजनमा पुग्छ भनेर सोच्नु सतही कुरा हो । बरु हामीलाई यो नतिजले सच्चिने अवसर दिएको छ ।
अब जसपा लगायत मधेस आन्दोलनबाट उदाएका पार्टीले त्यसको फल खाने दिन सकिएका हुन् ?
त्यो आन्दोलनलाई गहिरो गरी अध्ययन गर्ने हो भने, त्यसले नेपाली राज्य सत्ताको चरित्रको विद्रोह गरेको थियो । त्यसले नेपाली राजनीतिको पुनर्निर्माण खोजेको थियो । त्यसमा केही हदसम्म हामी सफल पनि भएका थियौँ । तर पछिल्लो पटक सङ्घीयताको कार्यान्वयन हेर्दा, सङ्घीयताप्रति मानिसको विश्वास कम हुँदै गएको छ । त्यसमा हाम्रो कमजोरी रह्यो । त्यो हामीले स्विकार्नु पर्छ । नेतृत्वले जसरी त्याग देखाउनु पर्थ्यो, त्यसमा कमी कमजोरी भएकै हो । जसले गर्दा आज सङ्घीयता पक्षधर कमजोर र अर्को पक्ष बलियो भएर आएको छ । तर एजेन्डा कमजोर भएको छैन । दलहरूमा स्खलन आएको छ, नेतृत्व विचलन आएको छ । मुद्दा चाहिँ थप बलियो भएको छ । हाम्रो मुद्दा हैन कि, आफूलाई नसच्याउने हो भने नेतृत्व चाहिँ विस्थापित हुन्छ ।
तपाईँहरू सरकारमा सहभागी हुने कि नहुने ?
हामीलाई चुनावमा झड्का लागेकै हो । हामीलाई सरकारमा जान कुनै पनि हतारो छैन । हामीले अब इमानदारिता, गम्भीरता र जिम्मेवार ढङ्गले आफूलाई तयार गर्नुपर्छ र अगाडी बढ्नुपर्छ ।
सत्ता गठबन्धनले नखोजेको भएर सरकारमा जाने हतारो नभएको हो कि ?
संवाद त भई रहेकै छ । तर औपचारिक रूपमै न हामीले हतार गरेका छौँ, न उहाँहरूले खोज्नुभएको छ । अहिले त सबै पार्टी अहिले आन्तरिक तयारीमा लागिरहेका छन् । जसपाले पनि औपचारिक रूपमा निर्णय नगरेका कारण छलफल गर्दै हिँड्ने कुरा पनि भएन । कसैसँग भेटेर हामीले के भन्ने ?
मधेस प्रदेशमा चाहिँ सरकारमा जाने नजाने के छ योजना ?
मलाइ लाग्छ केन्द्रमा बन्ने गठबन्धनले त्यहाँ पनि प्रभाव पार्छ । केन्द्रमा पनि कुनै एक पार्टीको एकमना सरकार हुँदैन । त्यसैले सांसदको सङ्ख्याले मधेस प्रदेशमा पनि अर्थ राख्छ । तर दाबी कुरा त यसअघि पनि हामीले राम्रोसँग पाँच वर्ष सरकार चलाएको हुनाले यस पटक पनि स्वाभाविक हो । किनकि, मधेसमा हामी एमाले र काँग्रेसपछि तेस्रो स्थानमा छौँ । त्यसैले सरकारमा हाम्रो सहभागिता अनिवार्य जस्तै छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९, १९:०७