नेपालमा सरकार र सरोकारवाला निकायको निगरानी हुन थालेपछि बाँकेका अभिभावकहरूले भारतमा लगेर आफ्ना बालबालिकाको विवाह गर्ने गरेको पाइएको छ । मधेशी तथा मुस्लिम समुदायमा कम उमेरमा विवाह गर्ने चलन छ । नेपालमा कडाइ गरिएपछि भारतका मन्दिरमा विवाह गर्ने नेपाली बालबालिकाको सङ्ख्या बढेको छ ।
५ वा ७ वर्षमा गौना गर्ने र त्यसको एकदुई वर्षमा दुलही भित्र्याउने परम्परा मधेसी समुदायमा कायमै रहेको छ ।
बाँकेको डुडुवा गाउँपालिका–३ बनकट्टीमा एक मुस्लिम किशोरीको विहे भएको खबर तीन महिनापछि गाउँभरि फैलियो । न जन्ती आए,न गाउँघरलाई निम्तो बाँडियो । घरपरिवार र केही नातेदार मिलेर १८ वर्षकी ती किशोरीको गुपचुप भारतीय केटासँग विहे गराउनुको कारण हो २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने नेपालको कानुन । वनकट्टीका विनोद वर्माले भन्नुभयो, ' हाम्रो छिमेकीमा सानैमा एक किशोरीको विवाह भारतमा लगेर गराईदिए । नेपालमा प्रहरीले कडाई गरेपछि भारतमा गएर बालविवाह गर्नेक्रम बढेको छ ।'
गाउँघरमा मात्र होइन, नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर –१२ बेलासपुरमा एक १४ वर्षिया किशोरीको विहे २१ वर्षका युवासँग हुने पक्कापक्की भइसकेको छ । उनीहरूको विवाह पनि भारतको मन्दिरमै गर्ने तयारी भइरहेको थाहा पाए पनि रोक्न गाह्रो छ भन्नुहुन्छ बाल अधिकारकर्मी खुसी चिडिमार । ' १४/१५ वर्षको उमेरको केटीको विवाह २२/२३ वर्षको केटासँग गराईदिने गरेको पाइएको छ ।' खुसीले भन्नुभयो, 'केटा वा केटीले नचाहे पनि बुवाआमाको दवावका कारण विवाह हुने गरेको छ । सम्झाउँदा पनि अभिभावकले मानीरहेका छैनन् ।'
भारतीय भूमिमा लगेर छोरीरूको गुपचुप विहे गर्ने प्रवृति बाँकेमा मात्र होइन भारतसँग सीमाना जोडिएका अरु जिल्लामा पनि बढेको छ । भारतमा १८ वर्षमै विवाह गर्नसक्ने कानुनी व्यवस्थाका कारण नेपाली अभिभावकले छोरीहरूको विवाह गर्ने थलो उतै बनाउन थालेका हुन् । ५ वा ७ वर्षमा गौना गर्ने र त्यसको एकदुई वर्षमा दुलही भित्र्याउने परम्परा मधेसी समुदायमा कायमै रहेको छ । परम्परागत मान्यताका कारण बालविवाह नरोकिएको हो ।' मधेशी समुदायका एकजना अगुवा रामकुमार वर्माले भन्नुभयो ।
एक वर्षअघि बाँके प्रहरीले बाँकेको विकट मटेहियामा बालविवाह विरुद्ध अप्रेशन चलाएर ११ वटा विवाह रोक्यो । बालबालिकालाई सम्झाएर छाड्यो । त्यसपछि स्थानीयले छोरीहरूको विहे गर्ने स्थान ८ किलोमिटर टाढा रहेको भारतको श्रावस्ती जिल्लाको जगपति मन्दिरलाई बनाउँदै आएका छन् ।
मटेहिया निवासी एकजना पत्रकार विनय दिक्षित छोरीचेलीको विहेबारे कानुनी कारवाहीमा परिने डरले अभिभावकहरू बोल्न नचाहने बताउनुहुन्छ । बालअधिकारकर्मी खुसी चिडिमारका अनुसार कतिपय अभिभावकले नागरितामा उमेर बढाएर भए पनि विहे गरिदिने चलन बढेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/ ०७४ मा १९ जना, ७४/७५ मा २५ जनाको बालविवाह प्रहरीले रोकेको छ ।
उमेर नपुग्दै भारतीय भूमिमा लगेर कतिको विवाह भयो त्यसको एकीन तथ्याङ्क भेटिँदैन । तर लगनको बेला जगपति मन्दिरमा विवाह गर्ने अधिकांश चेली नेपाली हुने मन्दिरका पुजारी बताउँछन् । पुजारीका अनुसार त्यहाँ दैनिक २० देखि ३० जोडीको विहे हुन्छ ।
यस बारेमा प्रहरीलाई जानकारी छ तर अभिभावकहरूले नै प्रहरीको आँखा छलेर विवाह गरिदिन थालेपछि गाह्रो भएको बाँकेका एसपी अरुण पौडेलले बताउनुभयो ।
नेपाल–भारतबीच रोजीरोटी देखि चेलीेबेटीसम्मको सम्वन्ध छ । यहाँका ५० प्रतिशतबढी छोरीचेलीको विहे भारतमा हुन्छ भने भारतबाट बुहारी भित्र्याउनेक्रम पनि उस्तै छ भन्नुहुन्छ, अधिवक्ता रामकुमार दिक्षित ।
जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/ ०७४ मा १९ जना, ७४/७५ मा २५ जनाको बालविवाह प्रहरीले रोकेको छ । चालु आर्थिक वर्षको हालसम्म उमेर नपुग्दै विवाह गर्ने १६ जनाको विवाह रोकिदिएको छ । तर अभिभावक नै बालविवाहका लागि अग्रसर हुन थालेपछि प्रहरीले नियन्त्रण अभियानमा पूर्ण सफलता पाउन सकेको छैन ।
अडियो सुन्न क्लिक गर्नुहोस्
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६, १४:०३