काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक हप्ताभित्र नयाँ प्रधानमन्त्रीको दाबी पेश गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विज्ञप्ति निकालेर संविधानको धारा ७६ को उपधारा २ बमोजिम एक हप्ताभित्र प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।
नयाँ निर्वाचनको परिणाम अनुसार कुनै पनि दलले बहुमत प्राप्त नगरेकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आव्हान गर्नुभएको हो । यसका लागि पुस १० गते साँझ ५ बजेसम्मको म्याद दिइएको विज्ञप्तिमा उल्लेख छ ।
संविधानमा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुने व्यवस्था छ । धारा ७६ को उपधारा २ को (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि गठबन्धनका दलसँग संवाद गर्ने निर्णय गरेको हो ।
यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफूलाई प्रधानमन्त्रीको रुपमा अगाडि बढाउन सत्ता गठबन्धनमा प्रस्ताब गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने पहल अनौपचारिक रुपमा गरिरहनु भएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ३, २०७९, १७:२४