काठमाडौँ । ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि जितेको छ । लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औं विश्वकप फुटबलको उपाधि जितेको हो ।
लुसैल रङ्गशालामा गयराति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो । खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खान पुग्यो ।
निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि खेलमा ३–३ को बराबरी भयो । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । सो क्रममा फ्रान्सका दुई खेलाडीले गोल गर्न सकेनन् भने अर्जेन्टिनाका चारै जना खेलाडीले गोल गरे ।
अर्जेन्टिनाले यसअघि सन् १९७८ मा नेदरल्यान्डस्लाई तथा १९८६ मा जर्मनीलाई हराउँदै विश्वकपको उपाधि जितेको थियो । साबिक बिजेताको रुपमा उपाधि रक्षा गर्ने लक्ष्य सहित मैदानमा उत्रिएको फ्रान्सले तेस्रो पटक विश्वकपको उपाधि उचाल्ने सुवर्ण मौका गुमायो ।
फ्रान्सले यसअघि सन् १९९८ मा ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो । पछिल्लो पटक २०१८ मा क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप जितेको थियो ।
विश्वकपको उपाधिसँगै व्यक्तीगत स्पर्धाको उपाधिमा पनि अर्जेन्टिनी खेलाडीको वर्चश्व रह्यो । फाईनलमा दुई सहित सात गोल गर्न सफल कप्तान लियोनल मेस्सी प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी बन्दा, गोल्डेन ग्लब्स अर्जेन्टिनाकै गोल रक्षक इमी मार्टिनेज र युवा खेलाडीको अवार्ड इन्जो फर्नान्डेजलाई दिईयो ।
फाईनलमा ह्याट्रिक सहित विश्वकपमा ८ गोल गर्न सफल फ्रान्सका किलियन एमबाप्पेलाई गोल्डेन बुटको अवार्ड दिईएको थियो ।
विश्वकप उपाधि जितेसँगै अर्जेन्टिनाले चार करोड २० लाख अमेरिकी डलर पाएको छ भने, उपविजेतामा खुम्चिएको फ्रान्सले तीन करोड डलर पुरस्कार पाएको छ ।
तेस्रो भएको क्रोएसियाले दुई करोड ७० लाख डलर पुरस्कार पाउँदा क्रोस्सियासँग हारेको मोरक्कोले पनि दुई करोड ५० लाख डलर पाएको छ ।
एक महिना चलेको कतार विश्वकप लियोनल मेस्सीलाई सर्बकालिन महान खेलाडी र किलियम एमबाप्पेलाई अबको स्टार खेलाडीको रुपमा उभ्याउँदै सकिएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ३, २०७९, २३:४३