काठमाडौं । नेपाल औषधीमा आत्मनिर्भर हुन सकेको छैन । मागको ७० प्रतिशत नेपाली उत्पादनले धान्न सक्ने भए पनि ४१ प्रतिशत मात्रै उत्पादन हुँदै आएको छ । सरकारले पनि फेरि औषधी उत्पादनको काम गरिरहेको छ । सरकारी स्वामित्वमा रहेको नेपाल औषधी लिमिटेडले ७ बर्ष बन्द गरेर फेरि औषधी उत्पादनको काम झण्डै डेड बर्ष देखि गरिरहेको छ । ४७ वर्ष पहिले स्थापना भएको नेपाल औषधी लिमिटेड सरकारको एक मात्र औषधि उत्पादन गर्ने उद्योग हो ।
नेपाल औषधी लिमिटेडले क्षमता अनुसार औषधी उत्पादन गर्न सके, अर्बौं रुपैंया बाहिरिनबाट जोगाउन सकिन्छ । औषधी उद्योगको विकास र व्यवस्थापनका लागि भने अब सरकारले बजेट विनियोजनको तयारी गरेको छ ।
अहिले परिक्षणका रुपमा लिमिटेडले पाँच प्रकारको औषधी उत्पादन गर्दै आएको छ । लिमिटेडका निमित्त निर्देशक विजय श्रीरत्न बज्राचार्यले सिटामोल, सिटामोल प्लस, जीवन जल प्लेन र जीवन जल ओरेन्ज उत्पादन गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार गिलिसिरिन र पानी पनि उत्पादन गर्ने काम पनि गरिरहेको छ ।
लिमिटेडबाट उत्पादन हुने गरेको सिटामोलले नेपाली बजारको माग पूरा गर्न सकेको छैन । एक ब्याजमा ३ लाख २ हजार ट्याबलेट मात्रै उत्पादन हुने गरेको छ जुन बजारको माग भन्दा निकै कम छ । यस्तै जीवनजल पनि माग अनुसार, निकै थोरै उत्पादन भइरहेको छ । २ सय प्रकारका औषधी उत्पादन गर्ने नेपाल औषधी लिमिटेड २०६७ सालमा पूर्ण रुपले बन्द भयो । सरकारले लिमिटेडलाई पुनः सञ्चालमा ल्याउने भन्दै मन्त्रिपरिषदबाट निर्णया गर्यो र २०७३ सालमा परिक्षणको रुपमा सञ्चालनमा ल्याइयो । तर क्षमता अनुसारको उत्पादनमा पनि जान सकिएको छैन ।
नेपाल औषधी लिमिटेडले क्षमता अनुसार औषधी उत्पादन गर्न सके, अर्बौं रुपैंया बाहिरिनबाट जोगाउन सकिन्छ । औषधी उद्योगको विकास र व्यवस्थापनका लागि भने अब सरकारले बजेट विनियोजनको तयारी गरेको छ ।
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव यम कुमारी खतिवडाले सीआईएनसँग कुराकानी गर्दै लिमिटेडको विकास र विस्तारका लागि सरकारले बजेट विनियोजन गर्नुका साथै विश्व स्वास्थ्य संगठनको गुड म्यानिफ्याक्चर प्रैक्टिस जीएमपी मापदण्ड पुरा गरेर बजारमा ल्याउने तयारी थालेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘लिमिटेड नेपाल सरकारको एक मात्र औषधी उत्पादन गर्ने उद्योग भएकाले त्यसको बजारीकरणदेखि लिएर त्यहाँको पुर्नसंरचना र बजेटको जिम्मेवारी सरकारकै छ । लिमिटेडले पस्तुत गरेको पञ्चवर्षीय योजनालाई ध्यानमा राखेर काम हुँदैछ ।’ औषधी विज्ञहरु भने जबसम्म लिमिटेडलाई सरकारले पहिलो प्राथमिकतामा राख्दैन तब सम्म त्यसको विकास नहने बताउँछन् ।
लिमिटेडका पूर्व अध्यक्ष एवं औषधी विज्ञ बाबुराम हुमागाईंले सरकार मातहतका सबैजसो निकायमा राजनितिक हस्तक्षेप हुने, पूर्व तयारी र दिर्घकालिन योजना विनै काम थाल्ने सरकारको प्रवित्तिले लिमिटेड पुरानै अवस्थामा फर्कन सकेको छैन । ‘पहिले २ सय प्रकारका औषधि उत्पादन हुन्थ्यो त्यहि अवस्थामा लिमिटेडलाई फर्काउन सकिन्छ ’ उहाँले भन्नुभयो, ‘त्यसका लागि सरकारले दिर्घकालिन योजना बनाउनुपर्छ । ’
अहिले नेपालमा औषधी उत्पादक कम्पनी ७२ वटा छन् । जस्मध्ये ५९ वटाले औषधी उत्पादन अनुमति पत्र (लाईसेन्स) लिएर औषधी उत्पादन गरिरहेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६, ०८:०७