काठमाडाैँ । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबिच प्रतिस्पर्धा हुने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
सभापति देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल हुनुहुन्छ भने समर्थकमा पूर्णबहादुर खड्का रहनुभएको छ । महामन्त्री थापाको प्रस्तावकमा डा. शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले रहनुभएको छ । पाैडेल कांग्रेसको १४ औँ महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवार बन्नुभएको थियो ।
कांग्रेस संसदीय दलको नेताका लागि बुधबार विहान ८ बजेदेखि १० बजेसम्म मतदान गरिने कांग्रेसले जनाएको छ ।
दलको नेता चयन हुन कम्तिमा ५१ प्रतिशत सांसदको मत पाउनुपर्छ ।
संसदीय दलको नेताका लागि प्रतिनिधि सभामा कांग्रेसबाट रहेका सांसदले मतदान गर्ने छन् । ८९ जना सांसद रहेको कांग्रेसको दलको नेता बन्न कम्तिमा ४५ जना सांसदको समर्थन प्राप्त गर्नुपर्छ ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९, १६:४०