दीपक साउद
दार्चुला । दार्चुलाको गोकुलेश्वर विमानस्थल निर्माण तीव्र गतिमा भइरहेको छ । माटो भर्ने काम ९० प्रतिशत पुरा भएको ठेकेदार कम्पनी के एस कन्स्ट्रक्सन प्रा लि धनगढीका साइट इन्चार्ज राजेन्द्र ऐरीले जानकारी दिनुभयो ।
विमानस्थलमा अहिले माटो भर्ने र ग्याबिनको काम भइरहेको छ । माघसम्ममा माटो भरिसक्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयाे । अर्थ मन्त्रालयले २०७७ साल माघ २१ गते विमानस्थल निर्माणको काम अघि बढाउन बजेटको सुनिश्चितता भए सँगै काम अघि बढेको हो ।
गत वर्ष डीपीआर तयार गरी स्वीकृत भइसकेको विमानस्थल सञ्चालनका लागि बहु वर्षे ठेक्का मार्फत काम भइरहेको छ । २०५० सालदेखि बन्द रहेको विमानस्थल गाई भैँसीका लागि चरन र नेताहरूका लागि भाषण स्थल र स्थानीय बासिन्दाका लागि खेलमैदान बनेको थियो ।
द्वन्द्व कालमा माओवादीले विमानस्थलमा रहेको टावर, टर्मिनल भवन, साइड कार्यालयलगायतमा आगजनी गरेपछि विमानस्थल बन्द भएको हो ।
तत्कालीन बोहरी गाउँ गाविसको देव थलीमा विमानस्थल निर्माणका लागि प्रस्ताव गरिएकोमा स्थानीयवासीले स्वीकृति नदिएपछि चमेलिया नदी किनारमा रहेको गोकुलेश्वरमा २०४४/४५ सालतिर विमानस्थल निर्माण सुरु गरिएको थियो ।
२०४६ सालदेखि सञ्चालनमा आएको विमानस्थल त्यसपछिको केही बर्ष नियमित उडान समेत भएको थियो । विमानस्थलमा कार्यरत तत्कालीन सबै कर्मचारी सरुवा भएपछि बन्द रहेको विमानस्थल २०६० सालदेखि कार्यालय सहयोगीको भरमा छोडिएको छ । विमानस्थल सञ्चालन भए नागरिकलाई सहज हुनुका साथै जिल्लाको पर्यटन विकासमा योगदान पुग्ने दार्चुलावासीको आशा छ ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९, १८:०४