काठमाडौँ । दक्षिण कोरियाबाट ३६ कोरली गाई र ६ ओटा प्रजनन राँगा नेपाल ल्याइएको छ ।
३४ लिटर जमेको वीर्य पनि कोरिया सरकारले नेपाललाई दिएको छ ।
कोरिया सरकारले हेफर इन्टरनेशनलमार्फत नेपाल सरकारलाई प्राविधिक सहायताका रूपमा गाई र राँगा दिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह सचिव, प्रवक्ता प्रकाशकुमार सन्जेलले सीआईएनसँग बताउनुभयो ।
एक सय होलस्टेन फ्रिजन जातका कोरेली गाई र २० ओटा उच्च प्रजनन राँगा दिने कोरिया सरकारको निर्णय छ ।
त्यसमध्ये पहिलो चरणमा हिजो साँझ ३६ वटा कोरेली गाई र ६ वटा प्रजनन राँगा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्यक्रमका बीच नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क सोङ्ग सुले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी विकासतर्फका सचिव डा दीपककुमार खराललाइ हस्तान्तरण गर्नुभयो ।
चार चरणमा गरी डिसेम्वर २८ अर्थात पुस १३ गतेसम्म सबै कोरेली गाई र प्रजनन राँगा नेपाल आइपुगिसक्ने छन् ।
३६ ओटा कोरेली गाई र ६ वटा प्रजनन राँगा केही दिन नेपाल कृषि अनुसन्धान परिषद् खुमलटारमा राखेर पशु प्रजनन कार्यालय पोखरा र लाहान कार्यालयमा तथा कमलामाइ नगरपालिकामा हस्तान्तरण गरिने मन्त्रालयका प्रवक्ता सन्जेलले जानकारी दिनुभयो ।
कोरिया सरकारको सहयोगबाट आनुवांशिक स्रोतवाट नेपालमा उच्च प्रजनन मानका गाईको स्रोत केन्द्र विकास, दूध उत्पादन बढाउन तथा जातीय विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९, ०८:०४