काठमाडौँ । देशभर चिसो बढेको छ । जाडो याममा खास गरी मधेसमा शीत लहरबाट नागरिकको मृत्यु हुने गरेको छ ।
चिसो सुरु भएसँगै खास गरी मधेस क्षेत्रका नागरिकको चिन्ता बढ्छ । सर्लाहीको हरिपुरका हीरादेवी माझी शीत लहर नै सुरु नभए पनि बढेको चिसोले रात कटाउन गाह्रो हुँदै गएको बताउनुहुन्छ । ‘हामी जस्तो गरिबसँग न न्यानो कपडा छ न त गतिलो बास, कसरी कटाउने होला यो जाडो ।’ चिसो याममा भोग्नुपर्ने सास्ती कम गर्न पालिकाले प्रभावकारी योजना बनाउनुपर्ने आवाज बर्सेनि उठे पनि त्यसको सुनुवाइ नभएको नागरिकको गुनासो छ ।
चिसोका कारण विशेष गरी न्यानो कपडा र पौष्टिक खानेकुराको जोहो गर्न नसक्ने नागरिकलाई सास्ती हुन्छ । शीत लहर र चिसोका कारण बर्सेनि नागरिकको मृत्यु हुने गरे पनि मधेस क्षेत्रका जनप्रतिनिधि शितलहर सुरु भएपछि मात्रै ‘न्यानो सहयोग’ गर्ने योजनामा रहेको देखिन्छ । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रधुम्नप्रसाद चौहानले पुसको अन्तिम सातासम्म नागरिकलाई न्यानो सहयोग उपलब्ध गराउने बताउनुभयो । सर्लाहीको लालबन्दी नगरपालिकाका उपप्रमुख कल्पनामाया पाख्रिनले दाउरासहित कम्बल अनि न्यानो कपडा र खाद्यान्न अभाव भएका परिवारका लागि चिनी, चामल लगायतका सामग्री उपलब्ध गराउने योजना रहेको बताउनुभयो ।
बालबालिका, ज्येष्ठ नागरिक र दीर्घ रोगी मात्र होइन जाडोका कारण शरीरको तापक्रम कम भए सामान्य मानिसको समेत मृत्यु हुने डाक्टर बताउँछन् । सामान्यतया मानिसको शरीरको तापक्रम ८२ डिग्री फरेनहाइटभन्दा कम भएमा मृत्यु हुने जोखिम हुन्छ । चिसोका कारण शरीरको तापक्रम घट्दै जान्छ । शरीरलाई न्यानो बनाउने साधन नहुँदा विपन्न नागरिकको मृत्यु हुने गरेको छ ।
अर्कोतिर, स्थानीय तहले न्याना कपडा र आगो ताप्न दाउरा वितरण गर्दै आएका छन् । तर, यस्तो सहयोग पनि वास्तविक प्रभावितले पाउँदैनन् । मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार केही दिन यता बिहान बेलुका चिसो बढे पनि शितलहर सुरु भइसकेको छैन । शितलहर नै सुरु नभएकाले तयारी पनि खासै नगरिएको जनप्रतिनिधिहरू बताउँछन् ।
सप्तरीको कञ्चनरुप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ता वास्तविक प्रभावितलाई नै न्यानो सहयोग उपलब्ध गराउने बताउनुहुन्छ । सबै प्रभावितलाई सोचेजस्तो सहयोग उपलब्ध गराउन नगरपालिकाको बजेटले नधान्ने भन्दै उहाँले समाजसेवीसहित गैरसरकारी सङ्घ, संस्थालाई हातेमालोका लागि आह्वान गर्नुभयो ।
शीत लहरबाट सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, कपिलवस्तुलगायत जिल्ला बढी प्रभावित हुने गरेका छन् । मौसम पूर्वानुमान महाशाखाले शितलहर लगायत मौसमको जानकारी गराउँदै आए पनि सबै जिल्लामा विशेष कार्यालय नहुँदा पनि समस्या रहेको कपिलवस्तुको वाणगङ्गा नगरपालिकाका उपप्रमुख रिता चौधरीको भनाइ छ । ‘हामीलाई भैरहवामा रहेको कार्यालयले मौसम पूर्वानुमान सम्बन्धी जानकारी पठाउँछ तर यस्तो जानकारी दिने अफिस स्थानीय तहमै भए हुन्थ्यो,’ उपप्रमुख चौधरीले भन्नुभयो ।
नागरिकलाई जाडोबाट जोगाउन वाणगङ्गा नगरपालिकाले सामुदायिक वन सँगको सहकार्यमा दाउरा वितरण गर्ने, समुदायका विपन्न नागरिक र विद्यालयमा विपन्न परिवारका जेहेन्दार छात्रछात्रालाई समेत न्यानो कपडा वितरण गर्ने योजना बनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला १० वर्षमा १ सयभन्दा बढी नागरिकको चिसोका कारण मृत्यु भएको छ ।
नागरिकलाई चिसोबाट जोगाउन बर्सेनि न्यानो कपडा र दाउरा वितरण गर्ने गरिएको छ तर, दिगो समाधानको उपायको खोजी गरेको भने पाइँदैन । शितलहर सुरु भएपछि न्यानो सहयोग वितरण गर्ने पालिकाको तयारी आगलागी भए पछि दमकल बोलाउने जस्तो मात्र छ । शितलहर चल्नु अघि नै नागरिकलाई त्यसबाट बच्न न्यानो सहयोग दिने बारे पालिकाले कुनै सुरसार नगरेको जनप्रतिनिधि नै बताउँछन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९, १३:३६