पृथ्वीमा वर्षभरिमा ठाउँअनुसार विभिन्न ऋतुसहित भिन्न भिन्न मौसमको चक्र चलिरहन्छ । सामान्यतया पूर्वीय देश र खास गरेर दक्षिण पूर्वि एसियामा गृष्म, वर्षा, शरद, हेमन्त, शिशिर र वसन्त गरी छ ऋतुको वर्णन पाइन्छ । यी ऋतुमा मौसममा उल्लेख्य फरक पनि पाइन्छ, गृष्ममा कम गर्मीदेखि घमाउरा आउने बढि गर्मी, वर्षामा झ्यार्र झुर्रदेखि लगातार मुसलधारे वर्षा भएर सबैतिर जलमग्न हुन्छ । शरदका पारिला घाम, खुला आकाश, धुलो मैलो कम, विभिन्न फूलको रमाइलो, हेमन्तमा बिहान बेलुकाको सिरेटो र घाम लागेमा न्यानो पनि पाइन्छ । शिशिरको मुटु कमाउने र नङ छुरी लाग्ने चिसो, बेलाबखतको बदलीले पारेको तोड, न्यानोको समस्या त्यसपछि फेरी गर्मी चढ्दै गएर रमाइलो वसन्तको आगमन सबैले आनन्द लिने बेला । त्यसैले कहिले आछुछु गर्दै त कहिले आहा ! भन्दै वर्ष घुमिरहन्छ।
जलवायु परिवर्तन:
हिजोआज संसारभरि जलवायु परिवर्तनको हल्लाखल्ला धेरै छ । विश्वमा ओजन सतह पातलिएको र प्वाल परेको, ध्रुवीय कडा हिउँको तह पग्लेको, समुद्रको तापक्रम बढेको, पानीका सतह घट्दै र मूल सुक्दै गएको, आदि अन्तर्राष्ट्रिय सभा–सम्मेलनमा बारम्बार चर्चा भइरहन्छ । पृथ्वीमा वातावरणको परिवर्तन पृथ्वी बने देखिनै भइरहेको भए पनि वैज्ञानिकको ठम्याइमा विगत एक हजार वर्ष यता द्रुतगतिमा भएकाले चिन्ता बढेको हो । उनीहरू मरुभूमिकरण बढेको, मरुद्यानहरू सुकेका, अप्रत्याहित पानी परेको, बाढीले बेमौसममा पनि दुःख दिएको, चिसा ठाउँ न्यानो हुँदै गएका र गर्मी ठाउँमा चिसो बढेकाले जैविक विविधतामा असर गरेको आदि बुँदा जोड्न खोज्दछन् ।
नेपालमा भने हाम्रा पाका मान्छेहरू पहाडतिर तुसारो पर्न छोडेको, खुला पानीका सतहमा ठाँटो नपरेको, हिमालमा हिउँ कम परेको र पहाड काला देखिएका, समय अघि नै वा पछिसम्म गुराँस फुलेको आदि भन्दछन् । तराईतिर शीत लहर बढेको, लु लाग्ने क्षेत्र फराकिलो भएको, तलाउमा पानी सुकेको, सिमलमा भुवा कम लागेको, भिर माहुरी र कठौरी माहुरी हराउन थालेको, बाढीको प्रकोप अप्रत्याशित भएको, सालको फूल बिना कारण झरेको आदि उदाहरणका आधारमा पुरानो समय फेरिँदै गएको बताउँछन् । उनीहरू नेपालमा कीरा कम लाग्ने ठाउँमा कीरा लाग्न थालेको, लामखुट्टे पहाडतिर फैलिएको, पानीका मूल सुक्दै गएर जीवन कष्टकर भएको उदाहरण पनि जोड्दछन् । वैशाख जेठ महिनामा खेतबारीमा काम गर्दा एक छिन हपहप भए पनि छहारीमा बस्दा शीतल हुन्थ्यो आजकाल त छहारीमा नै हपहप छ, पसिना पनि ओबाउँदैनन् भन्छन् । उनीहरू पहिले आफ्नो ठाउँ, गाउँ, पोखरी, ताल, तलैया र डाँडा भएर जाने चराहरू आजकाल बाटो फेरेर अन्तैबाट जान थालेको यता मौसम फेरिएर त होला नि भन्ने लख काट्छन् । के यस्ता अनुभव जलवायु परिवर्तनको जनस्तरको ज्ञान होइनन् त ?
नेपाली अनुभव:
हरेक ठाउँका पाका मान्छे बसाइँ सरेर आफ्नो थातथलो नछोडेका भए त्यस ठाउँका बारेमा जति जानकार हुन्छन् त्यति त जलवायु परिवर्तनका बारेमा ठूल्ठुला विश्वविद्यालयमा अध्ययन गरेका प्राज्ञहरू पनि हुँदैनन् । एक त पाका मान्छे आफैँ साठी बर्ष माथिको अनुभवी हुन्छन् अर्कोतर्फ केटाकेटी अवस्थादेखि उनीहरूले आफ्ना पाका मान्छेका कुरा सुनेर करिब एक शताब्दीकै जानकारी बटुलेका हुन्छन् । हिजोको संयुक्त परिवारको समाज प्रणालीमा सबै कुरा पाका मान्छेको बिचार निर्देशनमा हुने हुनाले पुस्तैनी अनुभवको बढी महत्त्व हुन्थ्यो । कृषिमा आश्रित समाजमा माटोको गुण, लिन सकिने बाली, बिऊ बिजनको छनौट, रोप्ने छर्ने समयको आङ्कलन, सिँचाइका लागि समय क्रम निर्धारण, मौसमअनुसार बाली भित्र्याउने बेला, दैनिक उपयोग र लामो समयका लागि भण्डारण गर्ने तरिका, अर्को वर्षका लागि सञ्चीति, आदि बारेमा अनुभवका आधारमा निर्णय पाका मान्छेले गरेको सुनिश्चित हुने गरेको पाइन्छ ।
हावाको तापक्रम र वेगमा आएको परिवर्तनले ल्याउने सन्देश, बादलको रङको आधारमा मौसमबारे हेक्का, बर्षातमा पानी पर्ने समय र मात्रा, अँधेरी र उजेली रात भएकोमा गरिने सुरक्षित क्रियाकलापको ज्ञान पाका मान्छेलाई नै हुन्छ । कीरा-फट्याङ्ग्रा देखिनु चराहरूको बसाइसराइको अर्थ, अमुक प्राणी देखिनु र हराउनुको भविष्यवाणी, पालिएका घरेलु बस्तुभाउ, चराचुरुङ्गीका व्यवहार र आवाजको अर्थ लगाउन अनुभवसिद्ध जानकारीबाट मात्र सम्भव हुनसक्छ । पाका मान्छेकै अनुभवका आधारमा बटुलिएको कहाँ कस्तो अन्य व्यवसाय वा मेहेनत पनि गरे फलदायी हुन्छ भन्ने जानकारी समेत भरपर्दो हुन्छ ।
नेपालको अर्थतन्त्रको मेरुदण्ड अझै खेतीपाती नै भएकाले पाका मान्छेको ज्ञान खेती प्रणालीको मूलाधार बनेको छ । अहिलेका पाका मान्छेलाई जग्गाजमिनको अम्बल अम्बल गुण दोषको हेक्का छ, गैरी खेतमा कुन प्रजातिको धान धेरै फल्छ ? कुलोको मुखको गह्रामा पानीको वेग थाम्ने कुन प्रजाति सुहाउँछ ? सबै हेक्का हुन्छ । त्यसैदेखि माथि टारी खेत वा पानीको झरना हुने पाटोमा कसरी कुन खेती गर्ने भन्ने पनि अनुभवसिद्ध ज्ञान हुन्छ । पानी रसाउने बारीमा घैया धान हुन्छ कि कोदो नै लगाउनुपर्छ मात्र होइन, उत्तर फर्केको पाटो र घमाइलो दक्षिणी पाटोमा कुन प्रजातिको मकै, फापर, भटमास र दलहन लगाउनु फलदायी सबै अनुभव भएको हुन्छ । सम्भावित वर्षा र सुख्खाको अनुमानका आधारमा बाली विविधीकरण गर्न दूर दराज र भौगोलिक बिकट ठाउँका पाका किसानहरू त्यसैले सक्षम छन् ।
जाडो भरी हिउँले ढाकिने जमिनमा कसरी कुन प्रजातिको घाँसपात जगेर्ना गर्नेदेखि तातो हावा अर्थात् लु चल्ने ठाउँमा कसरी आफू र परिवार जोगाउने भन्ने अक्कल पाका मान्छेमा हुन्छ । मौसमअनुसार पहाडका बेँसी झर्ने चलन स्थानीय जलवायु परिवर्तनको ज्ञान होइन र? शरदको रमाइलोमा अझ न्यानो बेसीँ झर्ने, सकेको खेतीपाती गर्ने, बस्तुभाउको खान्की कुस्त पुर्याउने अनि कीरा-फट्याङ्ग्रा बढ्नु अघि पहाड उक्लने ज्ञान अपठित भनिएका किसानमा जलवायु र मौसमको हेक्का होइन र ? जाडोमा हिमालको तल्लो भागमा कुहिरो, बादल र सिरेटोले ज्यादै चिसो हुँदा अझ माथि सधैँ घाम लाग्ने र घामको परावर्तनका कारण तुलनात्मक हिसाबले न्यानो हुने उच्च हिमाली समस्थलीमा आफू र आफ्ना बस्तुभाउ लैजाने हिमाली किसानलाई मौसम र जलवायु परिवर्तनको ज्ञान र बच्ने उपाय कुन वैज्ञानिकले सिकायो होला ? सञ्चीत गर्न ठिक्क तापक्रम चाहिने खाद्य सामाग्री कति गहिराइमा गाडेर राख्ने भन्ने ज्ञान हिमाली क्षेत्रमा मौसम र जलवायुबारे ज्ञानको नमुना होइन र ?
तराईमा जाडोले बस्तुभाउलाई न्यानो पार्न बिहानभरि खुल्ला ठाउँमा बगाल राखी घाम तपाउने, बर्षातमा गाउँ नजिक नदीको ढिक र उच्च ठाउँमा धुवाउने प्रविधि गरेर कीराबाट बचाउनु पर्छ भन्ने उपाय मौसमअनुसारको ज्ञान नभए के होला त ? सामान्य तापक्रममा सञ्चित गर्ने खाद्यवस्तु मौसम परिबर्तनसँगै हावा खेल्ने टोकरी बनाई बलोतिर झुण्ड्याउनु मौसमको ज्ञान होइन र ? माटो र भूसको भकारी, डेहरी बाढीको भेल घरभित्र पस्दा पनि नबिग्रने भई अन्न जोगाउन सकिन्छ र जहान छोराछोरीलाई अकाल नहोला भन्ने ज्ञान जलवायु परिवर्तन र मौसमको मारबाट मानिस बचाउने परम्परागत उपाय होइनन् र ? भेल आउन सक्ने ठाउँमा खुट्किला गाडी झालापाताबाट बाढीको असर रोक्नु बाढीको पूर्वानुमान र बचावट होइन र ?
जलवायु परिवर्तनबारे विश्वको चासो:
संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन सम्बन्धी सन २०२२ को सम्मेलन कोप २७ ले विश्वमा बढ्दै गएको उमेर बढ्दै जाने मान्छेहरूसँग जलवायु परिवर्तनले पारेका असरबारेमा छलफल चलाउन सम्बोधन गरेको छ । प्रमुख कार्यकारी अलिसन मार्शलले मिश्रमा यही नोभेम्बर ६ देखि १८ सम्म भएको सम्मेलनमा पाका मान्छे र जलवायु परिवर्तनको प्रतिकुलतामा घनिभूत चर्चा गरेका छन् । वास्तवमा न्यून र मध्यम आयस्रोत भएका अविकसित र अल्पविकसित राष्ट्रका पाका मान्छे यो जलवायुको सङ्कटले अरू उमेर समूहभन्दा बढी मारमा परेका छन् । कोपका धेरैजसो कार्यक्रम जलवायु सम्बन्धी नै छन् र उदाहरणमा पूर्वी अफ्रिकाको सुख्खादेखि पाकिस्तानको बाढीसम्मका राहत कार्यक्रमको तर्जुमा समग्र घटनालाई समष्टिमा बिचार गरेर केलाउँदा पाका मान्छे र तिनका परिवारजनले भोगेका अवर्णनीय समस्याहरूको सम्बोधन नै हो । आखिर सबैको ध्यान र लक्ष्य भनेको जलवायुको असर कम गर्ने, त्यसमा पीडित मुख्य पक्ष पाका मान्छे र उनीहरूका आश्रयमा रहेका अरू उमेर समूहको हित र राहत नै केन्द्रबिन्दुमा देखिन आउँछ ।
मार्सल र उमेर अन्तर्राष्ट्रियका कार्यकारीहरू र दुनियाँका नेताले जलवायु सम्मेलनमा कार्यान्वयनमुनि असरदार काम गर्छन् कि गर्दैनन् भनी जोड गरिरहेका छन् । उनीहरूले आह्वान नै गर्दै भनेका छन् कि, जलवायुको सङ्कटले जहाँ बस्ने भए पनि, जुनसुकै उमेर समूहका सबैलाई प्रभाव पार्छ । त्यसैले सबै उमेर समूहका मानिस जलवायु अनुकुलनका लागि र प्रभाव कम गर्न कुममा कुम मिलाएर काम गर्नै पर्छ । पाका मान्छेको अनुभव र सहभागितामा जलवायु परिवर्तनका सम्भावना र भएका असरबारेमा हरेक क्षेत्रका मानिस आआफ्नै ढङ्गले आ आफ्नै ठाउँको मौलिकताअनुसार परिचालित हुनुपर्छ । मोटामोटी सैद्धान्तिक धारण र प्रविधिको नबिनतम उपयोग मात्र सँसारलाई एकै किसिमको होला तर स्थानीयताको विशेषता कदापि बिर्सनु हुन्न ।
पाका मान्छेका अनुभवले थुप्रै ज्ञान आर्जन गरेका हुन्छन् । त्यसैले जलवायु परिवर्तन हुँदा के गरेमा पार लाग्न सकिन्छ भनी अनुभवसिद्ध उपाय प्रयोग गरी समुदायलाई सहयोग गर्न सक्छन् । धेरैले आफ्नै जीवनकालमा धेरै थरिका सङ्कट भोगेका हुन्छन् । सुख्खा खडेरी लाग्न लाग्दा वा लागि हालेमा के गर्ने, कता जाने र मान्छेको जीवन कसरी बचाउने भन्ने ज्ञान राख्दछन् । दक्षिणी सुडानमा त्यसैले त्यहाँका पाका मान्छेका ज्ञानका आधारमा समुदायलाई परिचालन गरियो र मानिसका जीविकोपार्जन सुचारु गर्न उहाँलाई नै नेतृत्वमा स्थापित गरियो । हुन त पाका मान्छे आफैँ स्वास्थ्यका समस्या, असक्षमता र एक्लिएका कारण जलवायु परिवर्तनले अति प्रभावित भए पनि आफ्ना खास आवश्यकता औँल्याउन समेत नसक्ने अवस्थामा हुनुहुन्थ्यो । तर हामीले जलवायु परिवर्तनका सबै योजनामा पाका मान्छेका आवाज सुनियोस् र योजनामा समावेश होउन् भनी प्रयत्न ग¥यौँ । किनकि हामीले संसारभरिका पाका मान्छेसँग काम गरी सङ्कट विरुद्ध हातेमालो गर्दै वर्तमान र भावी पुस्ताका लागि सुखद अवस्था ल्याउन खोजेका छौँ ।
भारतको थार मरुभूमिमा स्थानीय समुदायसँग मिलेर जहाँ जहाँ जलवायु परिवर्तनले सुखा खडेरी अति भएको छ त्यहाँ खाडी भनिने परम्परागत फारुतिनो गरी पानी उपयोग गर्ने संयन्त्र निर्माणको योजनामा काम गर्दै छौँ । उष्ण प्रदेशीय सबैभन्दा खराब आङ्कलन गरिएको मोजाम्बिककोे २०१९को ल्डाई आँधीबेहरीपछि, हामीले प्रारम्भमा प्राण बचाउने राहत सामग्री बितरण गर्याैँ । त्यसै बेला देखिनै पाका मान्छेको दैनिक जीवनका आवश्यकता पूरा गर्न मद्दत अघि बढायौँ । समुदायलाई यस्ता सामान्य मद्दतले जलवायु प्रकोपसँग डट्न र हुनसक्ने खतराबाट उम्कायो भने भविष्यमा आउन सक्ने सङ्कटबाट बच्ने उपाय सिकायो ।
त्यसैले अन्तर्राष्ट्रिय रूपमा यही नोभेम्बर महिनामा अफ्रिकाको मिश्रमा भएको कोप २७ मा निर्णयकर्तालाई संसारमा उमेर बढ्दै गएको बढ्दो जनसङ्ख्यासँग जलवायु परिवर्तनले ल्याएको हाँकलाई पाका मान्छेको सन्दर्भमा ध्यान आकृष्ट गराउन भन्यो । साथै गठित उमेर बढ्दै जानेहरू सम्बन्धी संस्था, तिनका कामहरूसँग पाका मान्छेका आवश्यकता र अधिकारको तादात्म्य जलवायु उत्पन्न सङ्कटमा सम्बोधन गर्न अघि बढाउन आग्रह गरे । यस्तो आग्रह अति आवश्यक थियो । किनभने जलवायु परिवर्तन व्यवस्थित गर्ने सीमा नाघ्नु हुँदैन र समाधानका लागि लगानी बढाउनु जरुरी छ । त्यसो नभएमा कसैका लागि पनि स्वस्थ्य पाको जीवन न अहिलेका लागि हुन्छ न भविष्यका पाका मान्छेको हुनेछ ।
अन्त्यमा,
अन्तर्राष्ट्रिय क्षेत्रमा समग्र विश्वमा भएका मोटामोटी घटना र बिशेषगरी पश्चिमालाई लागेका कुरा विज्ञानमा पनि ठेकेदारी जस्तै प्रथाको उपज नेपाली वस्तुस्थितिमा देखिन्छ । नेपालका पाका मान्छे ठाउँअनुसार मौसम र जलवायुबारे जानकार छन् र आफ्नै तरिकाले प्रतिस्पर्धा गरिरहेछन् । बरु विज्ञ भनाउँदाहरूले नेपालमा जलवायु परिवर्तनको असरलाई स्थानीय तहमा सोच र प्रयोगमा स्थानीय पाका मान्छेको रोहबरमा उहाँहरूको भनाईलाई आत्मसाथ गरी अनुकूलनका कार्यक्रम बनाए प्रभावकारी र बढी फलदायी होला । त्यस्तै, सम्बन्धित र सरोकार पक्षले विज्ञानको नौलो उपलब्धिसँगै स्थानीय पाका मान्छेको ज्ञान र सिपलाई लिपिबद्ध गर्न सकेमा नेपालमा जलवायु परिवर्तनबारेको महत्त्वपूर्ण राष्ट्रिय निर्देशिका बन्नेछ । त्यस आधारमा सबै पक्ष हातेमालो गरी अघि बढेमा जलवायु परिवर्तनको असर कम मात्र होइन एउटा जीवित प्राणी र एक गेडो अन्न नाश नगरी पूरा बचावट र सावधानी स्थापित गर्न सकिन्छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९, १७:०१