काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरूलाई दिएको ७ दिनको समय सीमा आज सकिँदै छ । सरकार गठनका लागि आवश्यक पर्ने बहुमत पुर्याउन गर्न सत्ता गठबन्धनको बैठक निरन्तर बसे पनि अहिलेसम्म निष्कर्ष निस्कन सकेको छैन ।
केही दिनदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दैनिक बसेका बैठकमा सहमति हुन नसकेको हो । हिजो बसेको बैठकमा पनि सहमति भएन । अहिलेको गठबन्धनमै रहेका दलहरू मिलेर सरकार बनाउन सहमत भए पनि सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे सहमति जुट्न सकेको छैन । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र दुवैले पहिलो २ वर्ष सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरेका छन् ।
आज प्रधानमन्त्रीको बारेमा टुङ्गो लाग्ने बैठकमा सहभागी काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले दाबी गर्नुभयो । त्यसको लागि आज पनि गठबन्धनको बैठक बस्ने तयारी छ । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी हुँदै आउनुभएको छ ।
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र प्रचण्डबिच हिजो नै प्रचण्ड निवास खुमलटारमा छलफल भएको थियो । भेटमा नेता पौडेलले गठबन्धन नछोड्न प्रचण्डलाई आग्रह गर्नुभएको बुझिएको छ । जवाफमा प्रचण्डले प्रधानमन्त्रीको पहिलो कार्यकालको नेतृत्व आफूले पाउनुपर्ने जानकारी गराउनुभएको थियो ।
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९, ११:३०