काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
नेकपा माओवादी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीसहित सात दल र स्वतन्त्र सांसदहरू प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहको समर्थन रहेको पत्र पेश गरेसँगै राष्ट्रपति भण्डारीले दाहाललाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
यससँगै २७५ सदस्यीय प्रतिनिधिसभामा दाहालको पक्षमा १६९ सांसदको समर्थन भएको छ । दाहाललाई भोली दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९, १९:०१