काठमाडौँ । सरकारमा मन्त्रीको रूपमा जाने नेताहरूको बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको बैठक अहिले बिहान बस्दैछ ।
८ बजेपछि पार्टी कार्यालय कोटेश्वरमा बस्ने बैठकमा सानो आकारको मन्त्रिमण्डल बनाउने र त्यसमा सहभागी हुने नेताको बारेमा छलफल हुने बताइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
प्रचण्डका प्रेस सहयोगी सूर्यकिरणका अनुसार आजै बिहान ११ बजे सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक बस्ने भनिए पनि निश्चित भइसकेको छैन ।
नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज दिउँसो चार बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ ।
नेकपा एमालेसहित विभिन्न सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९, ०७:५९